मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

रक्षामन्त्रीलाई जंगी अड्डामा स्वागत

शुक्रबार, चैत्र २४ २०७९

काठमाडौँ – उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले शुक्रबार नेपाली सेनाको मुख्यालय जंगी अड्डाको परिचयात्मक निरीक्षण भ्रमण गरेका छन् । उपप्रधान तथा रक्षामन्त्री भएपछि उनी पहिलो पटक जंगी अड्डा पुगेर नेपाली सेनाका उच्च अधिकारीसँग जानकारी लिएका हुन् ।

सैनिक अधिकारीहरुले खड्कासमक्ष संगठनात्मक स्वरुप, तैनाथी, स्वदेश र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली सेनाले सञ्चालन गरिरहेका अपरेशनल तथा विविध गतिविधिहरुबारे जानकारी दिएका थिए । खड्काले सेनाले सदैव नेपाली जनताको शीर उँचो राख्न सफल भएको तथा सेनाप्रति जनताले अत्यन्त विश्वास गरेको बताए । उपप्रधानमन्त्री खड्काले देशको सामरिक अवस्थिति र विद्यमान विश्व परिवेशअनुरुपको सन्तुलित व्यवहार जरुरी रहेको बताए । उनले संसारका मानिसहरुले नेपाली सेनाको विश्व शान्ति स्थापना प्रयासमार्फत नेपाललाई चिन्ने वातावरण बनेको भन्दै प्रशंसा गरे ।

खड्काले वर्षौदेखि सेनाले विकास निर्माणका कार्यहरुमा संलग्न रही देशका दुर्गमस्थलहरुलाई सडक सञ्जालमा जोड्न महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि उल्लेख गरे । उनले पर्यावरण संरक्षणमार्फत नेपाली सेनाले वातावरणीय असन्तुलनलाई सम्बोधन गरेको र यसले विश्व मानव समुदायलाई नै देन दिएको पनि बताए ।

नेपाली सेनाले मित्रराष्ट्रका सैनिक संगठनहरुसँग अद्वितीय, ऐतिहासिक सम्बन्ध कायम गरेको, सेनाका खेलाडीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा हासिल गरेको उपलब्धी देशको गौरवसँग जोडिएकोसमेत उनले उल्लेख गरे । निर्माणाधिन राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको भौतिक संरचना निर्माण सम्पन्न गरेर संचालन गर्न सरकार र आफ्नोतर्फबाट सदैव सहयोग हुने पनि उनले बताए ।

उपप्रधानमन्त्री खड्काले राष्ट्रिय गौरवको काठमाण्डौ–तराई-मधेश द्रुतमार्ग आयोजनासँग जोडिएका नीतिगत, प्रकृयागत समस्याहरुको समाधान गर्नेतर्फ प्रयासहरु भईरहेको बताए । आयोजनाको कार्य छिटो सम्पन्न गर्न आफ्नो तर्फबाट सबै सहयोग रहने पनि बताए । खड्काले जनतासँगको निकटता र नागरिकमैत्री हुनु नै नेपाली सेनाको विशेषता रहेको र यो नै साँचो अर्थमा लोकतान्त्रिकरण भएको पनि टिप्पणी गरे ।