काठमाडौं । प्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले एक दुई दिनमै पूर्णता पाउने बताएका छन् ।
बुधबार बिहान नेकपा (माओवादी केन्द्र) भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण विभागले आयोजना गरेको राष्ट्रिय भेलामा प्रचण्डले आज वा भोलिमा सरकारले सतप्रतिशत पूर्णता पाउने बताएका हुन् ।
उनले अब सरकारको ध्यान पूर्णरुपमा सरकारको नीति बनाउने र बजेट निर्माणमा नै केन्द्रित हुने बताए । उनले अबको बजेटमा गुणात्मक रुपमा र जनताले केही राहत पाउनेगरी बजेट निर्माण गर्ने प्रतिवद्धता जनाए । जनताले फरक अनुभुति गर्न नसके अहिलेसम्मका सम्पूर्ण परिवर्तन धरापमा पर्नसक्ने बताए ।
उनले भने, ‘मैले प्रधानमन्त्री बनेर अहिले सरकार सञ्चालनको अवसर पाएको छु, त्यो पनि चुनौतिपूर्ण रुपमा छ । अहिले सरकारले करिवकरिव पूर्णता पाएको छ । आज भोलि, शतप्रतिशत नै पूर्णता प्राप्त गर्छ । हाम्रो सबै ध्यान अब सरकारको नीति बनाउने र बजेट निर्माणमा नै केन्द्रित हुनेछ । कुन बाटो जाने भन्नेमा केन्द्रित हुनेछ । केही गुणात्मक, जनताले केही राहत पाउनेगरी यसअघिको पनि बजेट निर्माण गर्दा त्यो किसिमले गर्नु भनेको थिएँ । त्यो महशसु गराउन नसके सम्पूर्ण परिवर्तन धरापमा पर्नसक्ने खतरा छ । यसमा म गम्भीर छु ।’
प्रधानमन्त्री दाहालले आफ्नो कार्यकालमा जनतामा आशा जगाउने अधिकतम काम गर्ने प्रयास गर्ने बताए । प्रधानमन्त्री प्रचण्डले परम्परागत नीति,कार्यक्रम र बजेटले देशका समस्या सम्बोधन नगर्ने बताए । विगतभन्दा केही नयाँ, विगतभन्दा केही फरक र देशको अर्थतन्त्रमा गुणात्मक प्रभाव राख्ने योजनाहरू ल्याइने बताए ।