मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

उपराष्ट्रपति उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज

आइतबार, फाल्गुन २८ २०७९

काठमाडौं । आगामी चैत ३ मा हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि मनोनयनपत्र दर्ता भएका उम्मेदवारहरूको अन्तिम नामावली आज प्रकाशन हुँदैछ ।

शनिबार भएको उम्मेदवारको मनोनयनपत्र दर्तामा चार जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

नेकपा एमालेका तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छन् । यस्तै १० दलीय सत्तारुढ गठबन्धनकातर्फबाट जनता समाजवादी पार्टी नेपालका दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसपाको तर्फबाट रामसहायप्रसाद यादव र प्रमिला यादवको उम्मेदवारी परेको छ ।

यस्तै जनमत पार्टीको तर्फबाट ममता झाको उम्मेदवारी परेको छ ।

निर्वाचन अधिकृतको कार्यालयले आज १२ बजे मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, १२ बजेदेखि १ बजेसम्म नामावली प्रकाशन गर्ने जनाएको छ । साथै दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने र ४ देखि ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।

उपराष्ट्रपतिमा मनोनयनपत्र दर्ता गर्दा नवनिर्वाचित राष्ट्रपतिको लिङ्ग वा समुदायभन्दा फरक हुने गरी दर्ता गर्न निर्वाचन अधिकृतलाई निर्वाचन आयोगले निर्देशन दिएको थियो ।