काठमाडौं । पूर्वमाओवादी घटक दलको संयुक्त बैठकले विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरीत हुने गतिविधिको विरोध र प्रतिवाद गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको बैठकले विस्तृत शान्ति सम्झौताको मर्म र भावना अनुसार नै अघि बढ्ने निर्णय गरेको छ ।
शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगो लगाउन आवश्यक कानूनी एवं संस्थागत व्यवस्थाको लागि तत्काल पहल गर्न संयुक्त बैठकले सरकारसमक्ष मागसमेत गरेको छ ।
बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरण, नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला र नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी लगायतका नेताहरू सहभागी थिए ।
‘संक्रमणकालीन न्यायको प्रक्रिया विपरितका काम कारबाहीहरूले शान्ति सम्झौताको कार्यान्वयनमा सहयोग पुर्याउँदैन भन्ने कुरामा समेत हामी स्पष्ट छौं’, बालुवाटार बैठकपछि जारी संयुक्त विज्ञप्तिमा भनिएको छ’ ‘शान्ति सम्झौता र परिवर्तनका विरुद्ध हुने कुनै पनि गतिविधिहरूको प्रतिवाद गर्न हामी एकमत छौं । साथै विभिन्न समयमा राज्यसँग भएका सहमति र सम्झौताहरुको कार्यान्वयन हुनुपर्दछ भन्ने कुरामा समेत प्रतिवद्ध छौं ।’
बैठकले विभिन्न समयमा राज्यसँग भएका सम्झौता कार्यान्वयन गर्न गराउन प्रतिबद्ध रहने निर्णय गरेको छ।
