काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डले भारतलाई खुशी पार्न नेपालीका भान्सा भान्सामा विषादीयुक्त तरकारी पुर्याएको आरोप लगाएका छन् ।
तरकारीमा विषादी छ छैन जाँच गर्न नपर्ने निर्णय विदेशीलाई खुशी पार्ने योजना अन्तर्गत भएको उनको भनाइ थियो ।
पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले वर्तमान सरकार विदेशी मालिक खुशी पार्न तल्लिन रहेको बताउँदै नेपाली नागरिकको भान्सा भान्सामा पुग्ने भारतीय तरकारीमा विषादी छ छैन जाँच गर्न नपर्ने निर्णय विदेशीलाई खुशी पार्ने योजना अन्तर्गत भएको बताए ।
उनले नेपालीलाई विषादीयुक्त तरकारी ख्वाउने यस निर्णयको विरोध गर्नुपर्ने समेत बताए । देश र जनताको हित विरूद्धका काम गर्दै जान अहिले सरकारमा बस्नेहरूलाई लाजसरम नलाग्ने उनको भनाइ थियो ।
साथै ओलीले मुस्ताङमा विश्वविद्यालय स्थापनाका नाममा नेपाललाई विदेशीको खेलमैदान बनाउन लागिएको समेत बताए । मुस्ताङमा विश्वविद्यालय बनाउने कुरा राष्ट्रिय हितविरोधी काम भएको उनको भनाइ थियो । जनसंख्या कम भएको ठाउँमा गएर किन विश्वविद्यालय खोल्नुको अर्थ नेपालमा रहेको युरेनियममा विदेशीले आँखा लगाइरहेको उनले भनाइ थियो । अध्यक्ष ओलीले मुस्ताङमा विश्वविद्यालय बहुतै खतरनाक कुरा भएको बताए ।
आठ दलीय गठबन्धन भन्नेहरूको विचार, दृष्टिकोण र कहाँ जाने भन्ने नै नरहेको बताउँदै अध्यक्ष ओलीले परिवर्तन नचाहने प्रतिक्रियावादी शक्तिहरु यथास्थिति चाहन्छन् र राम्रो देखिन कपटी भाषा बोल्छन् भने ।
जनतालाई सही बाटोमा लाग्नबाट रोक्न उनीहरु जनतालाई भ्रममा पार्ने गरेको वताउँदै अध्यक्ष ओलीले यो राष्ट्रको रक्षा, विकास, सामाजिक न्यायसहितको लोकतन्त्र र सुशासनका निम्ति एमलेमा सबै गोलबन्द भएर काम गर्न आग्रह समेत गरे ।