बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

हुम्लामा दुर्घटनाग्रस्त विमान यस्तो अवस्थामा भेटियो, मृतक दुवैजनाको शव सुर्खेत पठाईयो

बुधबार, जेष्ठ २ २०७५

काठमाडौँ जेठ, २–
बुधवार  बिहान ६ः१६ बजे  सुर्खेतबाट उडेर बेपत्ता भएको मकालु एयरको जहाज हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।
 हुम्लाको खार्पुनाथ गाउँपालिकाको एक्लबुजखर्कमा विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जनाए ।  विमान १२ हजार ८०० फिट उचाईँमा भेटिएको बताईएको छ ।
हुम्लाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाका अनुसार दुर्घटनास्थल जिल्ला सदरमुकामदेखि १७ किलोमिटर दक्षिणपूर्वमा रहेको छ । विमानमा पाइलट किरण भट्टराई र को–पाइलट आदित्यनाथ नेपाल रहेको मकालु एयरले जनाएको छ । दुर्घटनामा दुवैको मृत्यु भएको छ । प्रजिअ अधिकारीका अनुसार उनीहरुको शव सुर्खेत पठाइसकिएको छ ।

मकालु एयरको कार्गो विमान आज बिहान ६ः१६ बजे सुर्खेत विमानस्थलबाट हुम्लाको सिमीकोटका लागि उडेपछि सम्पर्कविहीन भएको थियो ।
विमानस्थल स्रोतका अनुसार विमान हराउन अघि नेपालगञ्जको राडारसँग सम्पर्क भएको थियो । त्यतिबेला विमानमा कुनै प्रकारको खराबी आएको भन्ने विमानले जानकारी नदिएको स्रोतले बतायो ।

यसअघि, सन् २०१६ मा पनि मकालु एयरको विमान हुम्लाको सिमिकोट विमानस्थलमा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा दुई जना घाइते भएका थिए ।