काठमाडौं वैशाख, ५–
सरकारले यातायात व्यवसायी, संघ तथा समितिहरुको बैंक खाता रोक्ने चेतावनी दिएको छ । सरकारले सिण्डिकेटको पक्षमा रहेका यातायात व्यवसायी, संघ तथा समितिहरुको बैंक खाता रोक्ने चेतावनी दिएको हो ।
प्रधानमन्त्री निकट उच्च स्रोतका अनुसार आवश्यक परे सिण्डकेटको पक्षमा रहेका यातायात व्यवसायीको बैंक खाता सरकारले रोक्न सक्छ, यसबारे अध्ययन भइरहेको छ ।
सरकारको निर्णयअनुसार यातायात व्यवस्था विभागले देशभरका जिल्ला प्रशासन कार्यालयहरुका दर्ता गरेर व्यवसायिक कारोबार गर्दै आएका ३ सय भन्दा बढी यातायात समितिको विवरण प्रधानमन्त्री कार्यालयमा बुझाइसकेको छ ।
सरकारले सिण्डिकेट तोड्ने निर्णय गरेपछि व्यवसायीहरुले सार्वजनिक यातायात बन्द गर्ने धम्की दिँदै आएका छन् । यसअघि सरकारले यातायातसम्वन्धी समितिहरु खारेज गर्दै जिल्ला प्रशासन कार्यालयमा दर्ता र नवीकरण नगर्ने निर्णय गरेको थियो ।
स्रोतका अनुसार प्रधानमन्त्री कार्यलय अन्र्तगतको सम्पत्ति शुद्धीकरण विभागमार्फत उनीहरुका सबै बैंक खाता र आर्थिक कारोबार रोक्ने र व्यवसायीको आर्थिक स्रोतमाथि पनि छानबिन गर्ने सरकारको तयारी छ ।