बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राधा चौधरीको सबै उपचार खर्च सरकारले बेहोर्ने

आइतबार, फाल्गुन २७ २०७४

 

काठमाडौं फागुन, २७–
सरकारले बोक्सीको आरोपमा आक्रमणमा परेकी  कैलालीको घोडाघोडी नगरपालिका–५ की राधा चौधरीको सबै उपचार खर्च व्यहोर्ने भएको छ । साथै, सरकारले  चौधरीमाथि बोक्सीको आरोप लगाई कुटपिट भएको र कुटपिट गर्ने भनिएका व्यक्तिलाई प्रहरीबाट छुटाइएको विषयमा तत्काल यथार्थ छानबिन गरी दोषीउपर कारवाही गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन समेत दिएको छ । 

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयबाट  जारी विज्ञप्तिमा लेखिएको छ, ‘कैलाली जिल्लाको घोडाघोडी नगरपालिका(५ मा २० वर्षीया राधा चौधरीमाथि बोक्सीको आरोप लगाई कुटपिट भएको र कुटपिट गर्ने भनिएका व्यक्तिलाई प्रहरीबाट छुटाइएको विषयमा तत्काल यथार्थ छानबिन गरी दोषीउपर कारवाही गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको छ ।’

‘हाल स्वास्थ्योपचाररत राधा चौधरीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने, थप उपचारका लागि उपयुक्त व्यवस्था गर्ने र घटनाको छानबिन गरी दोषीलाई कारवाही गर्न सम्बन्धित निकाय अग्रसर भैसकेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

यही फागुन २४ गते बिहीबार राधा चौधरीलाई बोक्सीको आरोप लगाउँदै आफूलाई भोलेबाबा बताउने स्थानीय झाँक्री रामबहादुर चौधरीले कुटपिट गरेको र स्थानीयबासी मुकदर्शक बनेको भिडियो सार्वजनिक भएको थियो । प्रहरीले रामबहादुरलाई छानबिनका लागि पक्राउ गरेपनि कानुनी कारवाहीको प्रक्रियामा जान नदिई उनलाई छोडिएको थियो ।

माथि बोक्सीको आरोप लगाई कुटपिट गर्ने व्यक्तिलाई प्रहरीबाट छुटाइएको विषयमा तत्काल यथार्थ छानबिन गरी दोषीउपर कारवाही गर्न सरकारले जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको प्रधानमन्त्रीको सचिवालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा लेखिएको छ, ‘मानवता विरुद्धको यस्तो जघन्य अपराधमा संलग्न जो कसैलाई पनि उन्मुक्ति हुन सक्दैन र दिइनेछैन ।’

कैलालीको यो घटनाले देशकै बेइज्जत भएको सरकारको ठहर छ । ‘नेपाललगायत विश्वले अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहेको दिन नै घटेको यस्तो गम्भीर घटनाले अन्धविश्वास र कुरीतिको जरा समाजको तल्लो तहमा फैलिएको प्रष्ट भएको छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘यस घटनाले आधुनिक मानवीय चेतना र सभ्यतालाई नै अपमान गरेको छ र देशकै बेइज्जत गरेको छ ।’