काठमाडौं फागुन, २१–
नेपाल प्रहरीका पूर्व डीआईजी समेत रहेका एमाले सांसद नवराज सिलवाल यतिबेला ‘सेलिब्रटी’ बनेका छन् । करिब एक बर्ष पहिलेसम्म नेपालको सुरक्षा निकायको नेतृत्व सम्हाल्ने तयारीमा रहेका सिलवाल यतिबेला त्यतिकै ‘सेलिब्रटी’ बन्न पुगेका भने होइनन् । उनलाई फसाउन तत्कालिन राज्यसत्ताले कुनैपनि हत्कन्डा बाँकी राखेन, तैपनि सांसद सिलवाल चट्टान जस्तै बनेर सरकारका सबै प्रहारलाई निस्तेज पार्दै अहिलेको अबस्थामा आईपुगेका हुन् । सामान्य तरिका हो प्रहरीको अफिसर उसले आफूले गरेका कार्य प्रस्तुत गर्दै आफ्नो संगठनको ‘फस्ट म्यान’ हुन खोज्नु ।
तर, सबै कुराले नम्बर एक हुँदा हुँदै पनि उतिबेलाको शासकहरुको आँखामा सिलवाल प्रिय बन्न सकेनन् । तत्कालिन शासकहरुले सिलवाललाई प्रहरी संगठनमा गरेको कुशल कार्यको पुरष्कार दिनुको साँटो अपमान गर्न पुगे । आईजीपी हुनको लागि सबै कुराबाट नम्बर एक रहेका सिलवाललाई बनाउनुको साँटो उनी भन्दा जुनियर बरियतामा रहेकाहरुलाई प्रहरी प्रमुखको फुली लगाईयो । त्यो अन्याय सहन नकेर तत्कालिन डीआईजी सिलवाल अदालतको ढोकामा पुगेर पनि राज्यसत्ताको दुरुपयोग गरेर उनलाई न्यायबट बञ्चित गरियो । त्यति मात्रै होईन उनलाई किर्ते कागजात पेश गरेको भनेर लगातार खेदिरहने काम गरियो । लगातारको खेदाईले वाक्क दिक्क बनेका सिलवाल राजनीतिमा प्रवेश गर्न बाध्य बनाईए ।
उनले एमाले पार्टी प्रवेश गर्नेबेला भनेका थिए, ‘ आफैमाथि राजनीति हुने खतरा देखेर म राजनीतिमा प्रवेश गरेको हुँ ।’ आफ्नो क्षमता प्रदर्शन गरेर पनि राज्यसत्ताको तारोमा परेका सिलवालले प्रहरी प्रमुखको फुली लगाउनबाट बञ्चित हुन पुगे । आफैमाथि राजनीति हुनथालेपछि एमाले प्रवेश गरे तैपनि सरकारको निरन्तरको खेदाईले उनलाई छोडेन । सिलवालमाथि उबेलाको सरकारले किर्ते काण्डको अर्को तरबार तेर्सायो । तर, डगेनन् सिलवाल । उनलाई एमालेले ललितपुर क्षेत्र नंं. १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनायो । सरकारले त्यहाँ पनि सिलवाललाई हराउन अनेक तिगडम गर्यो । गोदावरीका डीएसपीले सिलवालाई सहयोग गर्ने गरेको आरोप लगाउदै सरुवा समेत गर्यो । तर, राज्यले उनलाई निरन्तर लखेटिरहे पनि तग्दिर बलियो भएका सिलवाल निरन्तर अघि लम्किरहे र सरकारका सम्पूर्ण प्रयास फिका सावित हुन पुगे । ललितपुर १ बाट बिजयी भएका सिलवाललाई फसाउन सरकारले किर्ते काण्डलाई आड बनाएर फेरि उनलाई फसाउने रणनीति अघि सार्यो । उनलाई पक्रन प्रहरीले सातवटै प्रदेशमा सर्कुलर जारी गर्यो ।
सिलवालले आईजी नियुक्ति मुद्दामा कीर्ते कागजात प्रस्तुत गरेको भन्दै सरकारको आदेशमा प्रहरीले उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेर खोजतलास सुरु गर्यो । उक्त कुरा सार्वजनिक भएपछि सिलवालले सरकारी कदमप्रति आक्रोश समेत व्यक्त गरे । उनले ट्विटरमा लेखे, ‘म जनताको प्रतिनिधि हुँ र कानूनको परिपालक एक जिम्मेवार नागरिक पनि हुँ । समय सकिन लाग्यो भन्ने हतारोमा राजनीतिक प्रतिशोध साँध्न शक्तिको गलत प्रयोग गरी आफ्नो विपक्षीलाई प्रहार गर्ने जुन नौटंकी प्रदर्शन हुँदैछ, सत्यको जगमा त्यसको डटेर सामना हुनेछ ।’
सिलवाललाई सरकारले निरन्तर दुःख दिन थालेपछि नेकपा एमालेले समेत सिलवालको पक्षमा विज्ञप्ति जारी गरेर कडा बिरोध जनायो । पार्टी अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बसेको स्थायी समिति बैठकले सिलवाल प्रकरणमा सरकार र प्रहरीले गरेको कार्यलाई गलत हर्कत भएको भन्दै भर्त्सना समेत गरेको थियो । अन्त्यमा सरकारबाट बाहिरिने दिनसम्म पनि देउवा सरकारले सिलवाललाई फसाउन मुद्धा दर्ता गर्न खोज्यो । सरकारी वकीलले मुद्धा दर्ता गर्न नमानेपछि तत्कालिन महान्यायाधीवक्ता आफैले मुद्धा दर्ता गर्न खोजे । त्यतिबेला सचेत युवा समूहले सिलवालको पक्षमा खबरदारी आन्दोलन समेत गर्न पुग्यो । देउवा सरकार बाहिरिएसँगै उक्त सरकारले सिलवाललाई व्यक्तिगत तवरबाट साँधेका सबै प्रतिषोध औचित्यहिन हुनपुगे । प्रहरी प्रवक्ताले समेत सिलवाल दोषी नभएको भनाई सार्वजनिक गर्न पुगे । तत्कालिन सरकारले फरार अभियुक्तमा दर्ज गरेका सिलवाल एमाले माओवादीले संयुक्त रुपमा दिएको प्रशिक्षणमा सांसदका रुपमा शान्दार तरिकाले संसद भवन भित्र छिर्न पुगे ।
आइतवार शपथका लागि संसद भवन छिरेका सिलवाल सांसदमा मात्रै सिमित नभएर उनी एक ‘सेलिब्रेटी’ बन्न पुगे । प्रहरीको खोजी सूचीमा रहेका भनिएका एमाले सांसद नवराज सिलवाल बानेश्वरस्थित संघीय संसद भवन पुगेर सपथ लिएपछि उनी मिडियाकर्मीको घेरामा परे। संसद भवनमा सिलवालसँग सेल्फि खिच्न लाइन बस्नुपर्ने अबस्था देखियो । राजनीतिक दलका नेता सांसद, मिडियाकर्मीदेखि सर्वसाधारणसम्म उनीसँग सेल्फि खिच्न व्यस्त देखिन्थे । प्रहरीको खोजी सूचीमा रहेका भनिएका उनी संसद भवनभित्र छिरेपछि सबैको नजर उनि माथि परेको थियो। आइजिपी बढुवा सम्बन्धी मुद्दामा कागजपत्र कीर्ते रहेको भन्दै अनुसन्धान गरी कारबाही गर्न सर्वोच्च अदालतले आदेश दिएपछि उनी फरार रहेको बताइए पनि सिलवालले भने आफू विरुद्ध कुनै पनि अदालतमा मुद्धा दायर नभएको भन्दै आफू फरार नभएको सिलवालले प्रष्ट पारेका थिए । यसैबीच सिलवाल प्रकरण लम्ब्याउन नदिन सरकारले उनको मुद्धा अदालत नपुर्याई टुङग्याउन तयारी गरेको बताइन्छ।
सांसदको सपथ समेत लिइसकेपछि सिलवालले संवाददाताहरुसँग अब एक जनप्रतिनिधीको हैसियतमा काम शुरु गर्ने बताए। सिलवालले आफुमाथी कुनै औपचारिक अभियोग दर्ता नभएको र आफु फरार ब्यक्ति पनि नभएको जनाउँदै अब पूर्ण रुपमा जनताको सेवामा लाग्ने बताए। एउटा बगरको ढुंगो जस्तै बनेका सिलवाल जनताको मायाँ र आफ्नै बलियो तग्दिरका कारण आज सबैको सेलिब्रटी बन्न सफल भएका हुन् । आजको दिन आईपुग्नुमा उनले निकै दःख र संकट झेल्न पुगेका छन् । यो सम्पूर्ण तपस्या पार गरेका सिलवालका आउने दिन पक्कै पनि सहज बन्ने छन् ।