काठमाडौं फागुन, ७–
पछिल्लो समय विभिन्न रुपबाट विवादमा आएको सनराइज बैंकको अर्को कर्तुत छताछुल्ल भएको छ ।
बैंकले कहिल ऋणीको सम्पत्ति हडप्ने त कहिले लगानी गरेको रकम भ्यालुएसनभन्दा दोब्बर हुने, कहिले सञ्चालक अवैध फ्रुटी बेचेर फरार हुनु पर्ने, जस्ता काण्ड हामीले बारम्बार प्रकाशित गरेका थियौं । सोहीअनुरुप विभिन्न तबरबाट हामीलाई सम्पर्क गरी समाचार प्रकाशन नगर्न पटकपटक आग्रह गर्दा पनि हामीले जनताको सम्पत्तिमा भइरहेको लुटको भण्डाफोर गर्न छाडेनौं । यसैबीच सनराइजका सिइओ र सञ्चालकको मिलेमतोमा राष्ट्र बैंकको आडमा सरकारी सम्पत्ति नै निजीकरण गरको घटना सार्वजनिक भएको छ । प्रशंग हो, एनआइडिसी क्यापिटललाई एक्वायर गर्दा सरकारी सम्पतिलाई अनियमित ढंगले हडपेको पाइएको छ । सनराइजले सरकारी संस्थानहरुको समेत प्रमुख शेयर लगानी भएको क्यापिटललाई प्राप्ति गरि करोडौं बराबरको सम्पति आफ्नु कब्जामा ल्याएको छ । अघिल्लो बर्षको मंसिरमा प्राप्ति गरेको एनआइडिसी क्यापिटल, प्राइम बैंकलगायत अन्य बैंकले सरकारी सम्पत्तिमा भोलि लफडा हुन्छ भन्ने ठानेर छाडेपछि सनराइजले आफ्नो धन्दा पूर्ण गरेको छ । कुनै पनि नियामक निकायले आफूलाई केही गर्न नसक्ने धाक जमाउँदै धन्दा चलाउँदै हिँडेका रत्नराज बज्राचार्यको सेटिङमा अध्यक्ष मोतिलाल दुगडलगायत सञ्चालकको मिलेमतोमा क्यापिटलको सारा सम्पति हडपेका छन् ।
सरकारी संस्थाहरु राष्ट्रिय बीमा संस्थान, राष्ट्रिय बाणिज्य बैंक, नेपाल रेडक्रस सोसाइटी, कर्मचारी सञ्चय कोष प्रमुख रहेको र नेशनल लाइफ एण्ड जनरल इन्स्योरेन्स कम्पनी नविल बैंकको समेत शेयर रहेको क्यापिटलले रातारात एक्वाएरको नाममा सम्पूर्ण शेयरसहित सम्पति कब्जा गरेको हो । स्रोतका अनुसार कमलपोखरीस्थित जैन भवनको छेउमै रहेको क्यापिटलको ३ रोपनी जग्गासमेत हडपेको छ । विभिन्न संस्थाको नाममा रहेको शेयर र सरकारी सम्पतिसहित अहिले ७०–८० करोड बराबरको सम्पति १६ करोडमा एक्वाएर गरेको थियो । प्राप्ति गर्ने समितिमा रहेको सञ्चय कोषको तर्फबाट भरत वस्ती र राष्ट्र बैंकका उच्च अधिकारीलाई आर्थिक प्रलोेभनमा पारि सो सम्पति आफ्नो कब्जामा ल्याएको स्रोतको दावी छ ।
वि. सं २०४९ साल माघ २८ गतेदेखि संचालनमा आएको एनआइडिसीको विभिन्न संस्थाहरुमा समेत करोडौं रुपैयाँ बराबरको शेयर तथा भौतिक सम्पति र जग्गा जफत भएको छ । तत्कालीन समयमा सनराइजले क्यापिटलको सम्पूर्ण वासलातको आकार १६ करोड रुपैयाँ मानेर प्राप्ति गरेको थियो । यसरी सरकारी सम्पतिको प्राप्ति धन्दाका नाइकेहरु अध्यक्ष दुगडसहित सञ्चालक दीपक गुरागाइँ, वच्छराज तातड, मालचन्द दुगड (उनी गुणस्तरहिन फ्रुटीका मालिक हुन् ), दीपकप्रसाद भट्टराई, दीपक नेपाल, ज्योतिकुमार वेगानी र ओमकृष्ण जोशीले सीइओ बज्राचार्यकै मिलेमतोमा जग्गा अन्तै बेचेर ७०–८० करोड हडप्ने दाउमा छन् । पछिल्लो समय रत्नराजले आफुलाई कमाउ धन्दावाल सिइओको छबिसमेत बनाएका छन् ।
सरकारी सम्पति कीर्ते गरि मर्जर तथा एक्वाएरको नाममा धन्दा चलाउँदा पनि राष्ट्र बैंक मौन छ । नियमन निकायका सबै पदवालालाई कमिसनको लालच देखाएर सम्पति कब्जा भएको प्रष्ट देखिन्छ । सोही विषयमा सनराइज बैंकमा तत्कालै अख्तियार पस्ने खतरा बढेको स्रोतले बतायो । सरकारको सम्पतिमा गिद्धे नजर गर्ने र हडप्ने माथि तीब्र निगरानी बढाउनुपर्ने जरुरी देखिन्छ । यदि राष्ट्र बैंकले आँखा नै चिम्लेर सरकारी सम्पति कब्जामा स्वीकृति दिएको भए दोषीलाई कारबाहीको दायरामा ल्याई सनराइज बैंकको कर्तुत नियन्त्रण गर्ने निकाय सक्रिय हुने सम्भावना बढेको छ । आजको अमृतबजार साप्ताहिकमा खबर छ ।