काठमाडौं माघ, २१–
आइतबार राजधानीमा नयाँ नेपाली फिल्म ‘सुश्री सम्पत्ति’ को निर्माणको औपचारिक घोषणा गरिएको छ । फिल्म ‘सुश्री सम्पत्ति’ मा नायिका सारा सिर्पाली तथा नायक सलोन बस्नेतको रोमान्स निश्चित भएको छ ।
चलचित्रको निर्देशन सञ्चारकर्मी सुब्रत आचार्यले गर्ने भएका छन् ।कमेडी जनरामा निर्माण हुने चलचित्रमा नायिका प्रियंका कार्की गेष्ट रोलमा देखिने भएकी छिन् । अधिकांश छायांकन पोखरामा गरिने चलचित्रको छायांकन फागुन १५ गतेबाट सुरु हुने निर्देशक आचार्यको भनाई छ ।
नाम अनुसार नै चलचित्रको कथा तयार भएको भन्दै निर्देशक आचार्यले चलचित्रको कथाको मुख्य पात्र सुख सुविधामा हुर्किएकी एक युवती हुनेछिन् । ‘सुश्री सम्पत्ति’ को प्रस्तुतकर्ता रमेश त्वायना रहनेछन् भने कथा निर्देशक आचार्यलेनै लेखेका हुन् । विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार निर्माता रहेको चलचित्र २०७५ को तीजलाई लक्षित गर्दै प्रदर्शनमा आउने तयारी रहेको छ ।
चलचित्रको निर्माण घोषणा कार्यक्रममा यो चलचित्रको नाम जुराउने सञ्चारकर्मी कृष्ण भट्टराईलाई निर्माण टीमले १० हजार नगद समेत प्रदान गर्यो । चलचित्रमा विनोद न्यौपाने, प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको पनि मुख्य भूमिका रहने बताईएको छ ।
चलचित्रमा सुरेश अधिकारीको सोलो शब्द र संगीत रहने छ भने कविराज गहतराजको कोरियोग्राफी तथा भरत रेग्मीको सम्पादन रहनेछ । त्यस्तै, अर्जुन तिवारीको छायांकन तथा अभिमन्यू निरवी र निर्देशक आचार्यको डाइलग रहने बताईएको छ ।