काठमाडौं पुस, २१–
नेकपा एमालेका अध्यक्ष केपी ओली नियमित स्वास्थ्य परिक्षणका लागि बैंकक जाने भएका छन् । अध्यक्ष ओली आउदो पुस २६ गते बुधबार बैंकक जाने भएका हुन् । मृगौला प्रत्यारोपन पछि नियमित स्वास्थ्य परिक्षण गर्दै आएका ओली भर्खरै सम्पन्न निर्वाचनमा खट्नु परेकाले चिकित्सकले बोलाएको समयमा बैंकक जान पाएका थिएनन् ।
बैंककमा उपचार गराउदै आएका ओली नियमित स्वास्थ्य परीक्षण चिकित्सकले दिएको तालिका अनुसार यसअघि नै जानुपर्ने थियो ।
एमाले पार्टीले दिएको जानकारी अनुसार ओलीको समय तालिका पुस २६ देखि ३० सम्मका तय भएको छ । चुनावको बेला सर्वाधिक व्यस्त बनेका नेता ओली चुनावपछि पनि सक्रिय थिए । केही दिनयता स्वास्थ्यमा समस्या देखिएपछि उनी निवासमै आराम गरिरहेका छन् ।
यसबीचमा नयाँ सरकार गठनको प्रक्रिया पनि अवरुद्ध भएको कारण ओलीले यहि अवधीमा स्वास्थ्य जाँच गराउन चाहेको स्रोतको दाबी छ । ओलीले कही दिनयता सार्वजनिक कार्यक्रम र भेटघाट बन्द गरेका छन् । उनले बिहीबारको सर्वदलीय बैठकमा समेत भीम रावल, सुवास नेम्वाङ, बिष्णु पौडेल लगायतका नेतालाई पठाएका थिए ।