काठमाडौँ पुस, १२–
दशैँमा रु दुई लाख ९० हजारमा किनेको २ सय २० सिसीको पल्सर मोटरसाइकल हराएर खिन्न भएका प्रदीपकुमार चौधरी आज मोटरसाइकल भेटाउँदा प्रसन्न मुद्रामा थिए । यही पुस १ गते नयाँसडकमा पार्किङ गरेर काममा गएका चौधरीको बा८५प १८२२ नंको मोटरसाइकल बाहिर आउँदा हराएपछि खोजविनका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखामा उनले निवेदन दिए ।
जनकपुर घर भई हाल कोटेश्वर बस्दै आएका २२ वर्षीय चौधरी निवेदन दिएको ११औँ दिनमा आफ्नो मोटरसाइकल पाएपछि निकै हर्षित देखिन्थे । “हराएको यति छिटो मोटरसाइकल पाइन्छ भन्ने मलाई विश्वासै लागेको थिएन, यति चाँडो ट्राफिकले मोटरसाइकल खोजिदियो, म आज जीवनभरकै खुशी क्षणमा छु”, उनले भने ।
यस्तै थानकोट घर भएका सुदर्शन बिँडारी पनि निकै हर्षित देखिन्थे । कालीमाटी तरकारी बजारमा तरकारी व्यवसाय गर्दै आएका उनको तरकारी बजारमा पार्किङ गरेकै बखत यही भदौ २५ गते मोटरसाइकल हराएको थियो ।
“मैले मोटरसाइकल हराएपछि महाशाखामा निवेदन त दिएँ तर मलाई मोटरसाइकल पाइन्छ जस्तो लागेको थिएन, आज पाउँदा निकै खुशी छु”, उनले भने । बिँडारीको मोटरसाइकल बा२९प ६८५४ नम्बरको हो । उनले आफ्नो मोटरसाइकल पुरानो भएकाले पाईदैन होला भनेर नै नयाँ मोटरसाइकल किनेको बताए ।
यसैगरी गुर्जुधाराकी गीता महर्जनको पनि यही असोज १८ गते साथीलाई बसपार्क छोड्न जाँदा नयाँ बसपार्कबाट बा५६प १६७ नम्बरको स्कुटर हराएको थियो । “हराएको मोटरसाइकलको पार्टपूर्जा फेरेर बिक्री वितरण गर्छन् भन्ने सुनेको थिएँ, तर आज मैले मेरो स्कुटर सकुशल पाएँ, हिजो महाशाखाबाट फोन गरेर स्कुटर लिन आउनुहोस् भन्दा पनि पत्यार लागेको थिएन, आज आएपछि मात्र पत्यार लाग्यो”, महर्जनले भनिन् ।
यस्तै भीमसेनगोलाका सुमनकृष्ण भण्डारीले पनि आज हराएको मोटरसाइकल पाए । गत असार १५ गते हराएको मोटरसाइकल आज पाउँदा उनी निकै खुशी देखिन्थे । सधैँ घरबाहिर पार्किङ गर्दा गत असार १५ गते चोरी भएको उनले बताए ।
यी त केबल प्रतिनिधि पात्रमात्र हुन्, हिजोआज राजधानीबाट दिनहुँ थुप्रै मोटरसाइकल हराउने गरेका छन् । मोटरसाइकल हलुङ्गो हुने र चोरी गर्न सजिलो हुने भएकाले धेरै चोरी हुने गरेको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाले फेला पारेका ३० मोटरसाइकल सम्बन्धित व्यक्तिलाई बुझाएको छ ।
महाशाखाका प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनाल भने, “रातको समयमा अस्पताल, विमानस्थललगायतका व्यस्त ठाउँमा पार्किङ गरेर मानिसहरु आफ्नो काममा व्यस्त हुने हुँदा धेरै मोटरसाइकल हराउने गरेका छन् ।” पार्किङ गर्दा आफ्नो सवारी साधनको सुरक्षामा आफैँले ध्यान पुर्याउन सबैलाई उनले आग्रह गरे।
महाशाखाले आर्थिक वर्ष २०७२र७३ मा १६१, २०७३÷७४ मा २१८ र २०७४÷७५ को हालसम्ममा ९६ मोटरसाइकललाई फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाएको छ । फेला पारेका मोटरसाइकलमध्ये अधिकांश मोटरसाइकल काठमाडौँ उपत्यकामा फेला पारिएको र केही मोटरसाइकल उपत्यका बाहिरबाट काठमाडौँ ल्याइएको महाशाखाले जनाएको छ । रासस