उदयपुर मंसिर, १४–
उदयपुरमा बुधबार कांग्रेस उम्मेदवार नारायणबहादुर कार्की लगायत कांग्रेस कार्यकता चढेको गाडीलाई एम्बुस थाप्ने मुख्य योजनाकार पक्राउ परेका छन् । बुधबार बिहान उदयपुरगढी गाउँपालिका– ६ स्थित दनुवारबेँसीमा एम्बुस थाप्ने मुख्य योजनाकारलाई प्रहरीले बिहिबार पक्राउ गरेको हो ।
एम्बुस थाप्ने मुख्य योजनाकार त्रियुगा नगरपालिका– ७ शाही खोलाका बलबहादुर मगरलाई पक्राउ गरिएको उदयपुर प्रहरीले जनाएको छ । उनको साथबाट त्यतिबेला प्रयोग गरिएको मोटरसाइकल समेत बरामद गरिएको प्रहरीको भनाई छ । घटनामा संलग्न अन्यको पनि पहिचान भइसकेको र उनीहरुको खोजी अहिले गाउँगाउँ र नाकनाकामा भइरहेको बताईएको छ ।
बुधबार बिहान उदयपुर क्षेत्र नं २ मा नेपाली काँग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणबहादुर कार्कीको गाडीलाई लक्ष्य गरेर दनुवारबेँसीको जंगलमा एम्बुस थापेपछि कार्कीसहित सात जनाको टोली एम्बुसमा परेको थियो । एम्बुसबाट सख्त घाइते कार्की र उनका स्वकीय सचिव मीरा कटुवालसहित छ जना सख्त घाइते भएका थिए ।