बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बिशिष्ट व्यक्ति रहेका पूर्वप्रधानमन्त्री विष्टको सामान्य ढंगको अन्त्यष्टि

शनिबार, कार्तिक २५ २०७४

काठमाडौं कात्तिक,२५– 
शनिबार निधन भएका पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको आजै अन्त्यष्टि गरिएको छ ।
उनको  राजकीय सम्मान बिनै अन्त्येष्टि गरिएको हो ।  लामो समयदेखि क्यान्सर रोगबाट पीडित विष्टको ज्ञानेश्वरस्थित आफ्नै निवासमा  शनिबार विहान निधन भएको थियो । 

परिवारको इच्छा बमोजिम उनको अन्त्यष्टि साधारण ढंगले गरिएको हो । पूर्वप्रधानमन्त्री समेत रहेका   विशिष्ट व्यक्तिको निधनमा  राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने प्रचलन रहेको छ ।  उनको पार्थिव शरीरलाई पशुपति आर्यघाटस्थित साझा चितामा जलाइएको थियो । 

९१ वर्षको उमेरमा निधन भएका भएका पूर्वप्रधानमन्त्री  विष्ट निष्ठावान राजनीतिज्ञ थिए। 

 

 राजनीति शास्त्रमा स्नातकोत्तर गरेका स्वर्गीय बिष्ट पिता चन्द्रनिधि र माता धनकुमारीको कोखबाट जन्म १५ जनवरी १९२७ मा जन्मिएका थिए । 
राजनीतिसम्बन्धी लेखहरू लेख्दै राजनीतिज्ञ डिल्लीरमण रेग्मीसँगको सङ्गतबाट राजनीतिमा सरिक भएका बिष्टले नेपाली राष्ट्रिय काँग्रेसबाट राजनीतिक यात्रा शुरु गरेका थिए । उनी जहानियाँ राणा शासनविरुद्धको विसं २००७ को क्रान्तिमा सक्रियतापूर्वक लागेका थिए । 

 

सन् १९५८ मा परामर्शदात्री सभाको सदस्य भएका  विष्ट सन् १९६१ मा सहायक मन्त्री, मन्त्री हुँदै  विसं २०२५–२०२६, २०२८–२०३० र २०३४–२०३६ सालमा तीन पटकसम्म प्रधानमन्त्री भएका थिए । 

विसं २०६१ मा माघ १९ गते ज्ञानेन्द्र शाहले प्रत्यक्ष शासन सञ्चालन गरेपछि उनलाई विसं २०६१ फागुनमा उपाध्यक्षमा नियुक्त गरेका थिए । 

विसं २०३० मा सिंहदरबार आगलागी हुँदा नैतिकताको कारण राजीनामा दिई नेपालको इतिहासमा चर्चित भएका उपाध्यक्ष विष्टले नै चुनावमा भाग लिँदा आफ्नो पदबाट राजीनामा दिने चलनको शुरुवात गरेका थिए । 

 

विसं २००७ मा प्रजातन्त्र पुनःस्थापनापछि गठित राष्ट्रिय जनता परिषद्को उपसभापति र सभापति पनि रहेका साथै सोही पार्टीबाट उनी विसं २०१५ फागुन गते भएको काठमाडौँ–३ मा प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका थिए । 

 

 

सन् १९९६ मा प्रतिनिधिसभाले महाकाली सन्धि अनुमोदन गर्दा विरोध प्रदर्शन गरेबापत उनी पक्राउ परेका थिए । उनले चीन, भारत, पाकिस्तान, रुस, उत्तर कोरिया, अष्ट्रिया, जापान, मलेसिया, जर्मनी, फ्रान्स, नेदरल्याण्डस्, संयुक्त राज्य अमेरिका, इण्डोनेसिया र ब्राजिलको भ्रमण गर्नुका साथै राष्ट्रसंघको महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व पनि गरेका थिए । 

 

उनको  दुई छोरा र तीन छोरी छन् । दुई वर्ष अघि उनको श्रीमती र एक छोराको निधन भएको थियो । 

उनको अन्तिम बिदाईका लागि  उपप्रधानमन्त्री कमलथापासहित पञ्चायत पृष्ठभूमिका  नेता तथा शुभेच्छुक पशुपति आर्यघाट पुगेका थिए ।