काठमाडौं असोज, ३१–
कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा काँग्रेसलाई विजयी बनाउन नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
मंगलबार नेपाल विद्यार्थी संघले आयोजना गरेको कार्यक्रम उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई खतरामा पर्न नदिन दुवै तहको निर्वाचनमा काँग्रेस विजयी हुनुको कुनै विकल्प नभएको प्रष्ट पारे ।
उनले निर्वाचनमा काँग्रेसलाई विजयी गराउने गरी जुझारु र गतिशील भएर जनतासँगको सम्बन्धलाई अझै घनिष्ट बनाउन पनि पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए ।
काँग्रेसले चुनावमा हारे मुलुकको लोकतन्त्रनै खतरामा पर्ने प्रधानमन्त्री देउवाको चेतावनी थियो ।
उनले मुलुकमा कम्युनिष्ट शासन आए सर्वसत्तावाद सुरु हुने र जनताको बोल्ने, लेख्ने अधिकार समेत हनन् हुने दावी पनि गरे ।
त्यस्तै, उक्त कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको रक्षाका लागि पनि काँग्रेसले चुनाव जित्नै पर्ने दावी गरे । उनले कम खर्चमा चुनाव गरेर लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी पूरा गर्न नेपाल विद्यार्थी संघका नेतृत्वलाई निर्देशन पनि दिए ।
सोहि कार्यक्रममा महामन्त्री डा. शशांक कोइरालाले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा कम्युनिष्टहरुलाई परास्त गरेर मुलुकको लोकतन्त्रलाई सुदृढ बनाउने दायित्व पूरा गर्न नेपाल विद्यार्थी संघको नेतृत्वलाई निर्देशन दिए ।