बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बाम गठवन्धनलाई सिट बाँडफाँड भ्यागुताको धार्नी, कार्यदलले नसकेपछि ओली–प्रचण्ड आफै बैठकमा

मंगलबार, असोज ३१ २०७४

 

काठमाडौं असोज, ३१– दशैसँगै सुरु भएको बाम गठवन्धन तिहारसम्म आईपुग्दा निकै सकसपूर्ण अबस्थाबाट गुज्रिरहेको छ ।
असोज १७ गते एमाले–माओवादी र नयाँ शक्तिबीच चुनावी तालमेल र चुनावपछि पार्टी एकता गर्ने सहमति भएको थियो । जसलाई बाम गठबन्धन भनिएको थियो । 
यहि बीचमा ऐतिहाँसिक गठबन्धन भन्दै गठबन्धनमा जोडिएका नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई गठबन्धनबाट डेढ हप्ता नपुग्दै बाहिरिसकेका छन् । 

पद बाँडफाँडले पसिना छोडेका गठबन्धनका कार्यदलका सदस्य तथा प्रचण्ड– ओलीलाई बाबुरामको बहिरगमनले पक्कै पनि केही राहत दियोनै होला । 

 उम्मेदवार छनोट र संयुक्त घोषणापत्र तयार गर्न बाम गठबन्धनले गठन गरेका दुई छुट्टाछुट्टै कार्यदलले तोकिएको समयमा आफ्नो प्रगति विपवरण बुझाउन नसक्दा अहिले मानिसहरुलाई विस्तारै बाम गठबन्धन तुईहिने पो हो कि भन्ने आशंका समेत उठ्न थालेको देखिन्छ । 

एउटै दल भित्रको सिट बाँड फाँडमा त नेताहरुको पसिना छुटेको बेला गठबन्धनका दलहरुलाई सिट बाँडफाँड गर्न सरियाको ऊखु खानु जत्तिकै भएको छ ।  कार्यदलले थोरै मात्रामा मात्रै केही सहमतिहरु जुटाएका कुराहरु बाहिर आएका छन् । अहिले कार्यदलले जुटाएका सहमतिलाई अन्तिम रुप दिन पार्टी एकता संयोजन समितिको बैठक बसेको छ । 

केहीबेर पहिले ललितपुरको एक घरमा  सुरु भएको बैठकमा दुवै कार्यदलका सदस्यको साथमा  दुवै पार्टीका शर्षि नेता समेत  सहभागि भएका छन् । 

पार्टी एकता संयोजन समितिमा एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, बामदेव गोतम सहतिका नेताहरु छन् ।

 ‘अहिलेसम्म कार्यदलस्तरमा सहमति भएका विषय पार्टी एकता समितिको बैठकमा प्रस्तुत हुन्छ र बाँकी विषयमा टुङग्याउने बारेमा पनि कुराकानी हुन्छ’, निर्वाचन क्षेत्र तथा सिटसंख्या बाँडफाँड कार्यदलका संयोजक तथा एमाले महासचिव ईश्वर पोखरेलले बताए । 

पोखरेलले भने,  ‘केही काम भएका छन् । हुदै नभएको भन्ने होइन, तर, नमिलेका विषय एकता संयोजन समितिले टुङगो लगाउने भनिएकाले कार्यदलस्तरमा सक्दो सहमति जुटाउने प्रयास भएपनि केही काम बाँकी रहेका छन् अव ति काम छिटै टुग्न्छिन् ।’

पोखरले नेतृत्वको कार्यदलले १ नम्बर प्रदेशका ६ पहाडी जिल्लामा बाहेक अन्य जिल्लामा कुन पार्टीलाई कति क्षेत्र सुनिश्चित गर्ने भन्नेमा विवाद भएपछि कार्यदलको बैठक नै बस्न सकेको छैन । अन्यको तुलनामा प्रदेश नम्बर २ र ५ मा माओवादीले बढि क्षेत्र मागेपछि त्यसमा एमालेले निर्णय गर्न नसकेको कार्यदलका एक नेताले बताए ।  

त्यसलगत्तै असोज १९ गते बसेको गठबन्धनको बैठकले दुई कार्यदल बनाई संयुक्त घोषणापत्र निर्माण र निर्वाचन क्षेत्र बाँडफाँड गर्न नेताहरु बामदेव गौतम र इश्वर पोखरेलको नेतृत्वमा कार्यदल गठन गरी जिम्मेवारी दिइएको थियो । दुवै कार्यदलमा माओवादीका नेताहरु समेत सहभागि रहेका छन् ।

पोखरेल नेतृत्वको कार्यदलले दुवै पार्टीका नेताहरुलाई आगामी निर्वाचनका लागि सिटसंख्या र क्षेत्र निर्धारण गरि ६० –४० को आधारमा बाँडफाँड गर्ने जिम्मेवारी पाएको थियो भने गौतम नेतृत्वको कार्यदलले दुवै पार्टीका समान विचार र धारणालाई समेट्दै घोषणापत्र तयार गर्ने जिम्मेवारी पाएको थियो ।
घोषणा सभामा दुईवटै समितिलाई फरक फरक समय तोकिएको थियो । 

दुबै कार्यदलले  निर्धारित समयमै   काम सम्पन्न गर्ने दावी नगरेका होईनन् । तर,  अहिलेसम्म जम्मा  १६५ सिटमा आधामा पनि सहमति जुटाउन सकेको देखिदैन । 
कार्यदल स्तरमा सिट बाँडफाँडको लफडा मिलाउन नसकेपछि आज  पार्टी एकता समितिको बैठक बोलाइएको नेताहरुको भनाई छ । 

आजको बैठकमा पेचिलो बन्दै गईरहेको बिषय माओवादीले सरकार छाड्ने या नछाड्ने बिषयमा समेत छलफल हुने एक नेताले जनाए ।