लहान असोज, २२–
प्रतिनिधिसभा निर्वाचनमाका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम सिरहा क्षेत्र नं १ बाट सिफारिस भएको छ। एमालेको क्षेत्रीय समिति बैठकले क्षेत्र नं १ बाट सर्वसम्मतरुपमा अध्यक्ष ओलीको नाम सिफारिस गरेको हो । क्षेत्रीय अध्यक्ष रामदयाल यादवका अनुसार एमालेको क्षेत्रीय कमिटीले प्रदेशसभा निर्वाचनका लागि प्रदेशसभा क्षेत्र नं १ बाट राजेन्द्र चौधरी र प्रदेशसभा क्षेत्र नं २ बाट अशोक यादवको नाम सिफारिस गरेको जानकारी गराए ।
एमाले जिल्ला अध्यक्ष प्रमोद यादवले प्रतिनिधिसभाका लागि चार निर्वाचन क्षेत्र कायम भएको सिरहाका अन्य तीन क्षेत्रमा भने उम्मेदवारको नाम सिफारिस हुन नसकेको जानकारी गराए । नयाँ संरचनाअनुसार कायम भएको सिरहा निर्वाचन क्षेत्र नं १ मा लहान नगरपालिकासहित सखुवा ननकारकट्टी गाउँपालिका, भगवानपुर गाउँपालिका, नवराजपुर गाउँपालिका, धनगढी नगरपालिकाको केही वडा र लक्ष्मीपुर पतारी गाउँपालिकाको केही वडा समेटिएको छ।