बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रधानमन्त्री देउवा आज अमेरिका जाँदै

मंगलबार, असोज ३ २०७४

 काठमाडौं असोज, ३– 
संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार संयुक्त राज्य अमेरिकाको न्यूयोर्क जाने भएका छन्  । सेप्टेम्बर २३ मा हुने महासभाको बैठकमा भाग लिन प्रधानमन्त्री देउवा  त्यसतर्फ जान लागेका हुन् ।

प्रधानमन्त्री देउवासँगै नेपाली प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री कृष्णबहादुर महरा, महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइराला, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, न्यूयोर्कस्थित राष्ट्र संघको स्थायी नियोगका लागि नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलगायत उच्च सरकारी अधिकारी सहभागी हुने भउका छन्  । सेप्टेम्बर २८ मा प्रधानमन्त्री देउवा नेतृत्वको नेपाली प्रतिनिधिमण्डल  स्वदेश फर्कने कार्यक्रम छ ।

‘जनतामा केन्द्रितः दिगो पृथ्वीमा शान्ति र प्रतिष्ठित जीवनका लागि प्रयास’ भन्ने मूल विषयका साथ हुने महासभाको उच्चस्तरीय छलफल यही १९ सेप्टेम्बरदेखि शुरु हुँदैछ । महासभाका क्रममा न्यूयोर्कमा प्रधानमन्त्री देउवाले प्रधानमन्त्री देउवाले राष्ट्र संघका महासचिव एन्टिोनियो गुटेरससँग द्विपक्षीय भेटवार्ता गर्ने छन् ।

सेप्टेम्बर २१ मा अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी, श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना, बंगलादेशका प्रधानमन्त्री शेख हसिना र पाकिस्तानका प्रधानमन्त्री सहिद खान अब्बासीसँग प्रधानमन्त्री देउवाले द्विपक्षीय भेटवार्ता गर्ने छन् ।

सोही दिन प्रधानमन्त्री देउवाले कोलम्बिया विश्वविद्यालयको विश्व नेतृत्व मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ । मुलुकभित्र सबै दलको सहभागितामा सहमतिको वातावरण बनाई उत्साहपूर्वक स्थानीय तहका सबै चरणका निर्वाचन सम्पन्न गरी हुन लागेको प्रधानमन्त्री देउवाको यो विदेश भ्रमण महत्वपूर्ण मानिएको छ ।

साथै संघीय प्रतिनिधिसभा तथा प्रदेशसभाका निर्वाचनको मिति घोषणा गरी निर्वाचनको तयारीमा जुटेको अवस्थामा र यसअघिका ७०औँ र ७१औँ महासभामा नेपालका तर्फबाट प्रधानमन्त्रीस्तरमा भ्रमण नभएकाले पनि प्रधानमन्त्री देउवाको यो भ्रमण निकै महत्वपूर्ण हुनेछ ।