काठमाडौं भदौ, २५–
उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले चीनको ग्वान्जाओमा नेपालको महावाणिज्य दूतावास कार्यालयको उद्घाटन गरेका छन् ।
आज आईतबार ग्वान्जाओमा आयोजना गरिएको विशेष कार्यक्रममा परराष्ट्रमन्त्री महराले चिनियाँ सरकार तथा ग्वान्जाओको प्रान्तीय सरकारले नेपालको कार्यालय खोल्न सहयोग गरेकामा धन्यवाद समेत व्यक्त गरे ।
परराष्ट्रमन्त्री महराले सो नियोग चीनमा नेपालको चौथो कूटनीतिक नियोग भएको उल्लेख गरे । उनले नेपाल–चीनबीचको द्वीपक्षीय सम्बन्धलाई थप सबल बनाउन र वाणिज्यका क्षेत्रमा अझ सम्बन्ध विस्तार गर्न सहयोग पुग्ने समेत उल्लेख गरे ।
उनले आउँदा दिनमा दुई देशका जनताका बीचमा पनि राम्रो सम्बन्ध विस्तार हुने उल्लेख गरे । झण्डै २०० नेपाली व्यापारी विभिन्न व्यवसायमा संलग्न छन् । उनीहरुका अनुसार महावाणिज्य दूतावास खुलेसँगै व्यापारीलाई आइपर्ने समस्या समाधान हुने छन् ।
कार्यक्रममा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललगायतको उपस्थिति रहेको प्रेस जनसम्पर्क संयोजक हरि लामिछानेले जानकारी दिए ।