भदौ १५, बाँके – बाढीले उजाड बनाएको रित्तो घर । भुइँ अझै चिसो छ । खानलाई अन्नको गेडा छैन । कौशिल्याकुमारी बर्माको जीवनमा दुई दिनअघि (सोमबार) अर्को बज्रप्रहार भयो । बाढीलगत्तै बिरामी भएर थला परेका पति रामसागरले उनलाई सधैंका लागि छाडेर गए । ‘औषधि त टाढाको कुरा भइहाल्यो, बुढाले खानासमेत खान पाएनन्,’ उनले भनिन्, ‘बचाउन सकिएन, हेर्दाहेर्दै प्राण उड्यो ।’
६० वर्षीय रामसागर मजदुरी गरेर सातजनाको परिवार चलाउँथे । शारीरिक रुपमा समेत स्वस्थ थिए । साउन २८ गते रातिको बाढीले घरसम्पत्ति सोहोरेर लगेपछि उनी मजदुरी गर्न हिँडे । तर, बाढीले थिलथिलिएका उनी आफै बिरामी परे । उनलाई कमाएर खुबाउने मान्छे पनि भएनन् । उनको ज्यानै गयो । ‘केही दिनअघिसम्म स्वस्थ देखिने मान्छे एक्कासि मरेको सुन्दा सुरुमा त पत्यारै लागेन,’ छिमेकी प्रकाश श्रीवास्तवले भने, ‘औषधिमूलो अभाव र भोकमरीले उनको ज्यान लिइछाड्यो ।’
राप्ती किनारमा अवस्थित डुडुवा गाउँपालिका–२, बेतहनीका रामसागरको त जीवन समाप्त भइसक्यो । सरकारले खाद्यान्न र औषधिमूलो पुर्याउन नसक्दा उनीजस्ता थुप्रैको ज्यान जोखिममा छ । बाढीपीडित मुस्किलले एक छाक खाना खान्छन् । बिरामीको झन् बिजोग छ । उनीहरूले खाना त के औषधिसमेत पाएका छैनन् ।
रामसागरको निधनपछि उनका दौतरी ६५ वर्षीय शान्तराम कोरीलाई पनि मृत्युको त्रासले तर्साइरहेको छ । उनी दुई सातादेखि बिरामी भएर थला परेका छन् । छिमेकीले ल्याइदिएको सिटामोल खाइरहेका उनको स्वास्थ्यमा सुधार आएको छैन । ‘अनाजको रस पेटमा परेको छैन, पानी र यही औषधि (सिटामोल) मात्र खाइरहेको छु,’ उनले भने, ‘यसरी कति दिनसम्म पो बाँचिएला र ?’ शान्तरामको १३ जनाको परिवारमा उनीसँगै सात बिरामी छन् । सबैले खाने औषधि सिटामोल हो ।
राहतमा भेदभाव
बाढीबाट अतिप्रभावित बेतहनीको खालीपुरुवा र बाबागाउँ भोकमरीको चपेटामा छन् । डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीका अनुसार बेतहनीका यी दुई गाउँ यसपटकको बाढीबाट सबैभन्दा बढी प्रभावित भए । राहत वितरण गर्दा भने यिनै गाउँलाई बेवास्ता गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयमा स्थापित आपत्कालीन कार्य सञ्चालन केन्द्रको विवरणअनुसार मंगलबारसम्म बाँकेका बाढी प्रभावित क्षेत्रमा दुई लाख ७९ हजार सात सय केजी चामल वितरण गरिएको छ । बेतहनीका यी दुई गाउँका प्रभावितले भने अहिलेसम्म पाँच केजी चामलबाहेक अरु पाउन सकेका छैनन् । नेपाल रेडक्रस सोसाइटी, बेतहनी शाखाकाा उपसभापति रामहीरावन यादव पहुँचका आधारमा राहत वितरण भएको बताउँछन् । ‘नेपालगन्जमा कागवमा राहत वितरण गरिएको होला, यहाँ भने अहिलेसम्मम आएको छैन,’ उनले भने, ‘त्यही भएर मैले राहतसम्बन्धी कुनै पनि कागजमा सही गरेको छैन ।’
भोक मेटाउन पुरिएको अन्न खोतल्दै पीडित
पीडितले बाढीले बगाएको र घरभित्र पुरिएको खाद्यान्न खोतलेर जीवन गुजारा गर्न थालेका छन् । यसबाट स्वास्थ्य थप जोखिममा पर्ने खतरा बढेको छ । सावित्री नाउ ठाकुरसँग पाँचजनाको परिवार पाल्न माटोभित्र पुरिएर ‘मलजस्तै’ बनेको खाद्यान्न खोतल्नुको विकल्प छैन । बुधबार बिहान बाढीले भत्काएको घरमा पुग्दा उनी पुरिएको गहुँ निकालेर केलाउँदै थिइन् । ‘यसलाई धोएर सुकायो भने खान पाइन्छ कि भन्ने आशा छ,’ उनले भनिन्, ‘केटाकेटीलाई त जसोतसो दिनमा एक छाक जुटाएकै छु, हामी भने कहिलेकाहीं भोकभोकै बस्नुपर्छ ।’
अस्वस्थ खानेकुराले बाढीपीडितलाई विभिन्न स्वास्थ्य समस्याले गाँज्न थालेको छ । प्रभावित बस्तीमा ज्वरो र पखालाका बिरामी बढेका छन् । सुरुसुरुमा औषधि उपचारमा चासो राखिए पनि पछिल्लो समय वास्ता गर्न छाडिएको पीडितको गुनासो छ । ‘एकातिर पेट भोकै छ, अर्कोतिर रोगले च्यापेको छ,’ लालकुमारी यादवले भनिन्, ‘अब तपाईं नै भन्नुहोस्, हामी कहाँ गएर के गरौं ?’
अभिभावक गुमेपछि शोकमा रहेको रामसागरको घरमा अर्को चिन्ता थपिएको छ । मधेसी समुदायको संस्कारअनुसार मृत्युको १३औं दिन ‘तेरही’ गरेर छरछिमेक र आफन्तलाई खाना खुवाउनुपर्छ । ‘एक छाक खान अनाज छैन, तेरही कसरी गर्नेहोला ?’, किरिया बसेका १६ वर्षीय छोरा रणप्रतापले भने, ‘दुःखमाथि झन् दुःख खप्टियो, अझै कति दुःख हुने हो थाहा छैन ।’ नागरिक दैनिकमा समाचार छ ।