बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सांसद नै ठगिन्छन् ट्याक्सी चालकबाट अरूको हालत के होला ?

मंगलबार, भाद्र ६ २०७४

भदौ ६, काठमाडौं – आजको अन्नपूर्ण पोस्टमा यो खबर छ ।

“ए भाइ, म बिहारी होइन”
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलको पार्किङमा आइपुगेका सांसद रामअयोधी यादवलाई ट्याक्सीचालकले सोध्यो, “कहाँ से आया ? ” उनले पनि चालकको मनोविज्ञान बुझेर भनिदिए, “बिहार से आया हुँ, मिलन चोक जाना है ।” धोतीकुर्तामा ठाँटिएका उनले चालकलाई ट्याक्सीको मिटर चलाउन भने तर उसले जाम हुनेलगायत समस्या देखाएर चलाएन । उनी चुपचाप बसे ।

चालकले विमानस्थलबाट दरबारमार्ग, माइतीघर मण्डला हुँदै बानेश्वरभित्रको मिलन चोक पुर्‍यायो । सांसद यादवले भाडा कति भयो भनेर हिन्दीमै सोधे । चालकले नौ सय माग्यो । “ए भाइ, म बिहारी होइन । नेपाली सांसद हुँ, ट्राफिकको डीआईजी सर्वेन्द्र खनाललाई फोन गरेर भन्छु अनि तिर्नुपरेको सबै तिरौंला”, उनले नेपालीमा भने । चालक अबचाहिँ डरायो र भन्यो, “होइन हजुर, त्यसो नगरौं । ३ सय दिए पुग्छ ।”

सांसद यादवले यस्तो व्यथा संसद्को विकास समिति बैठकमा सोमबार सुनाएका हुन् । “ट्याक्सी सेवामा गुणस्तरीयता, प्रभावकारिता एवं उपभोक्ता ठगी नियन्त्रणका लागि भएका प्रयास” शीर्षकको बैठकमा सांसदहरूले राजधानीमा ट्याक्सी चढ्दाका तीता अनुभव पोखे ।

ट्रफिलाई फोन गरौं भन्दा..
सांसद तुलसा राना मगरले हालै अनामनगर, हनुमानस्थानबाट अन्य ३ सांसदसहित शान्तिनगर जान खोज्दा ट्याक्सी चालक मानेनन् । नियमतः यात्रुले भनिसकेपछि चालकले उपत्यकाभित्र बाटो पुग्ने जुनसुकै ठाउँ जानैपर्छ । पहिलोले नमानेपछि मगर दोस्रो ट्याक्सीतिर गइन् । तर दोस्रो चालकले पनि मानेन ।

उनले क्षुब्ध हुँदै “ट्राफिक कन्ट्रोललाई फोन गरिदिऊँ ? ” भनिन् । चालक किन पो गल्थ्यो र ! उसले आफ्नै मोबाइल तेस्र्याउँदै जवाफ दियो, “हुन्छ, ल मेरैबाट गर्नोस् न !“ हामी हतारमा थियौं । केही गर्न सकेनौं । हामीजस्ताले त निरीह बन्नुपर्छ भने सर्वसाधारणको हविगत के होला ? ” सांसद मगर भन्दै थिइन् ।

मन्त्रीको सरुवा 
यस्तै, रोचक कथा पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनकुमार शाहीले सुनाए । एयरपोर्टमा ट्याक्सीको अवस्था बुझ्न पर्यटक बनेर गरेको अनुगमनको अनुभव उनीसँग रहेछ । “मैले त्यहाँको अवस्था हेरिसकेपछि नीतिगत सुधारलगायत विषयमा निर्देशन दिएँ । त्यति गर्दा ट्याक्सी चालकमध्येको एउटा बुजु्रकले भनेको सुनें – यो मन्त्री कुन पार्टीको हो ? यसको सरुवा गर्दिनुपर्‍यो । अब बुझ्नुहोस् उनीहरूको दबदबा कति छ भनेर ।”

सिंहदरबार जान मान्दैनन् 
ट्याक्सीचालकले कस्ता ग्राहक खोज्छन् भन्ने उदाहरण सांसद डा। शिवजी यादवले पेस गरे । उनले भने – “चोकमा ३–४ वटा ट्याक्सी क्यूमा हुन्छन् । सिंहदरबार जाऊँ भन्दा कुनै मान्दैनन् । त्यहाँ जाँदा बढी पैसा लिन पाइँदैन भन्ने उनीहरूलाई थाहा छ ।
 ”  सांसद वैजनाथ चौधरीले कटाक्ष गरे, “नीति बनाउनेहरूबाटै भ्रष्टाचार हुन्छ, तलकालाई कारबाही गरेर के हुन्छ ? ”