काठमाडौं भदौ, १–
आजदेखि प्रदेश २ मा स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू भएको छ । सरकार र मन्त्रीहरु, राजनीतिक दल, सम्वन्धित स्थानीय तह, सार्वजनिक संस्था, सुरक्षा निकाय, निर्वाचनमा संलग्न कर्मचारीलाई आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ । यस्तै, सञ्चारमाध्यम, निजी तथा गैरसरकारी संस्था, सार्वजनिक पद धारण गरेका व्यक्तिलाई पनि आचारसंहिता लागू हुनेछ भने उम्मेदवारको हकमा २१ गतेबाट मात्र आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेमा मन्त्रीलाई कालोसूचीमा राख्नेदेखि एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ । त्यस्तै, लगातार आचारसंहिता उल्लंघन गर्ने मन्त्रीलाई ५ वर्षसम्मका लागि कुनै पनि निर्वाचनमा भाग लिन नपाउने गरी कालोसूचीमा राख्न सक्ने व्यवस्था पनि आचारसंहितामा गरिएको आयोगले जनाएको छ ।
आचारसंहिता लागू भएपछि कर्मचारीको सरुवा, बढुवा, नियुक्ति, अनुदान, सर्वेक्षण लगायत गतिविधि गर्न रोक लागेको छ ।