ललितपुर, साउन २३ । आज दिउँसो ललितपुरको कुसुन्तीमा प्रहरीको ‘इन्काउन्टर’मा प्रवीण खत्रीको ज्यान गएको छ । खत्री लागूऔषधको कारोबारमा संलग्न रहेको बताइएको छ । खत्रीसँग हतियार रहेको सुराकीका आधारमा महानगरीय अपराध महाशाखा टेकुका डिएसपी अजय केसी नेतृत्वको टोलीले उनको घरमा अपरेसनका लागि गएको थियो ।
महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले प्रहरीले घर घेरेको थाहा पाएपछि उनी कौशीबाट हाम फालेर भाग्न खोजेको र प्रहरीतर्फ गोली चलाएको बताए । जवाफी कारबाहीमा उनको ज्यान गएको अमात्यले बताए ।
प्रहरीले घर घेराउ गर्दा खत्री श्रीमतीसँगै कोठामा रहेको र प्रहरी आएको थाहा पाएपछि उनले साढे दुई तला माथिको कौशीमा गएर हाम फालेको डिएसपी अजय केसीले बताए । ‘हाम फालेर उनले प्रहरीलाई ताकेर गोली हानेका थिए, तर कसैलाई लागेन त्यसपछि उनले आफ्नै कन्चटमा गोली हाने,’ केसीले भने । प्रहरीले चलाएको गोली भने खत्रीको घुँडाभन्दा मुनि लागेको उनको भनाइ छ ।