काठमाडौं साउन, १२–
मतपत्र च्यातिएको ठीक दुई महिना पछि मतपत्र च्यातिएकोविरुद्ध दायर मुद्दामा आज पेशी तोकिएको छ । भरतपुर महानगरपालिका वडानम्बर १९ को मतपत्र च्यातिएकोविरुद्ध दायर मुद्दामा आज (बिहिबार) पेशी तोकिएको हो । यसअघि दुवै पक्षका वकिलले बहस गरिसकेका छन् । अब न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले पुनः मतदान कि पुनः मतगणना भन्ने फैसला दिनुपर्नेछ । माओवादी कार्यकर्ता मधु न्यौपाने र द्रोण शिवाकोटीले मतगणनाका क्रममा मतपत्र च्यातेपछि १९ नम्बर वडामा पुनः मतदान गर्ने आदेश निर्वाचन आयोगले दिएको थियो । यसअघि आयोगले छानविन गर्दा ९० मतपत्र च्यातिएको पाइएको थियो । वडा नम्बर १९ का एमाले उम्मेदवार गुन्जमान विक र सोही वडाका मतदाता समेत रहेका अधिवक्ता तुलसी पाण्डेले आयोगको निर्णयमा चित्त नबुझेको भन्दै सर्बोच्चमा रिट दायर गरेका थिए । न्यायाधीश चोलेन्द्र शमसेर जबराको इजलासले रिटमाथिे प्रारम्भिक सुनुवाई गर्दै तत्काल पुनः मतदानको निर्णय कार्यान्वयन नगर्न निर्वाचन आयोगलाई अन्तरकालिन आदेश दिएको थियो ।