बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कर फछ्र्यौटको विवाद तत्काल समाधान गर्नुपर्छ : पूर्व अर्थमन्त्री डा महत

मंगलबार, असार १३ २०७४

असार १३, काठमाडौँ – पूर्व अर्थमन्त्री डा रामशरण महतले कर फछ्र्यौटको विवाद तत्काल समाधान गर्नुपर्ने बताएका छन् । 

आर्थिक पत्रकार मञ्च नेपालले मंगलबार आयोजना गरेको ‘कर फछ्र्यौट आयोग : समस्या कि समाधान ?’ भन्नेबारेमा आयोजित अन्तक्र्रियामा टेलिफोनमार्फत बोल्नुहुँदै कर फछ्र्यौट विवादलाई तत्काल टुङ्गो लगाउनुपर्ने बताए । 

डा महतले कर फछ्र्यौट आयोग आफैमा संवैधानिक आयोग भएकाले सरकारले बाहेक अरू कुनै निकायले आयोगमाथि छानबिन गर्न नपाउने स्पष्ट पारे । उनले भने, “कर फछ्र्यौट आयोगले गरेको निर्णयलाई अर्को निकायले अनुपयुक्त हो भन्न मिल्दैन ।” 

कर फछ्र्यौट आयोगका पूर्व अध्यक्ष चण्डी श्रेष्ठले कर फछ्र्यौट आयोग समाधानको महत्वपूर्ण निकाय भएको भन्दै आयोगले गरेका निर्णय उल्टाउन नमिल्ने बताए । उनले करदाता र कर प्रतिनिधिबीच भएका विवादहरू बढाउनु उचित नभएको धारणा राखे । 

आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक अरबिन्दकुमार श्रेष्ठले नेपालमा कर फछ्र्यौट आयोगको आवश्यकता नरहेको बताए । उनले हाम्रो देशमा थुप्रै आयोग बनेका भए पनि विवादमा ल्याउने काम गरेको भन्दै कर अधिकृत र करदाताबीचको सम्बन्धभन्दा बाहिर रहेर आयोगले कुनै काम गर्न नपाउने बताए ।