मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

विशेष गरेर देखाउने प्रचण्ड सरकारका १६ मन्त्रालय खाली

बिहिबार, फाल्गुन १८ २०७९

काठमाडौं । प्रधानमन्त्री प्रचण्डसँग यतिबेला १६ मन्त्रालयको जिम्मेवारी छ । एमाले, राप्रपा र रास्वपा सरकारबाट बाहिरिएसँगै यतिबेला १६ वटा मन्त्रालय खाली भएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीपछि सोमबार एमाले पनि सरकारबाट बाहरिएसँगै १६ मन्त्रालय मन्त्रीविहीन बनेका हुन् ।

विगत २ कार्यकालमा सोचे अनुसार काम गर्न नसकेको तर, अहिले देश र जनताका लागि विशेष काम गरेर देखाउने अभिव्यक्ति दिँदै आएका प्रचण्डमाथि सरकार गठन भएको २ महिनामै १६ मन्त्रालयको जिम्मेवारी छ । प्रधानमन्त्री आफैँ व्यस्त रहने हुँदा उनको जिम्मेवारीमा रहेका वा खाली रहेका यतिविघ्न मन्त्रालयको काम कसरी अघि बढ्दै छ त्यो भने सोच्नुपर्ने भएको छ ।

एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ । यसअघि राप्रपाले पनि समर्थनसमेत फिर्ता लिएको थियो । रास्वपाले सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ ।

अहिले सरकारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, सूचना प्रविधि तथा सञ्चारमन्त्री रेखा शर्मा, खानेपानीमन्त्री अब्दुल खान, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र पर्यटन राज्यमन्त्री सुशीला सर्पाली ठकुरी मात्रै छन् । 

१६ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमातहतमा छ । 

सरकार गठन हुँदैदेखि दुई मन्त्रालय खाली थिए । वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले सम्हाल्दै आएका छन् । 

सात दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्ड नेतृत्वको सरकारमा अहिले प्रचण्ड नेतृत्वको सरकारमा माओवादी र जनमत पार्टी मात्रै रहेका छन् । आफूलाई समर्थन गर्ने दल मध्ये अधिकांशले समर्थन फिर्ता लिएपछि वा सरकार छाडेपछि प्रचण्ड आफैँ नैतिक संकटमा परेको र उनले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने खालका अभिव्यक्ति पनि सुनिन थालेका छन् । एकाथरीले भने उनले राजीनामा भन्दा पनि जतिसक्दो चाँडो संसदमा विश्वासको मत लिनुपर्ने तर्क पनि गरिरहेका छन् । तर, यति बेला प्रचण्ड भने ८ दलको समर्थन जुटाएर निकट भविष्यमै विश्वासको मत लिने तरखरमा रहेका छन् ।