मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

राष्ट्रपति उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुने, उम्मेदवारी फिर्ता लिन चाहे आजै लिनुपर्ने

मंगलबार, फाल्गुन १६ २०७९

काठमाडौं । राष्ट्रपति पदमा मनोनयन दर्ता गराएका उम्मेदवारको आज अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन आयोगले तयारी गरेको छ।

साथै राष्ट्रपति निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने छन् । उम्मेदवारले चाहेमा आज ४ बजेभित्र आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन्। त्यसपश्चात अन्तिम नामावली प्रकाशन हुनेछ।

आयोगको निर्वाचन कार्यतालिका अनुसार फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ।

निर्वाचन आयोगले राष्ट्रपति चुनावका लागि नयाँ बानेश्वरस्थित संसद् भवनमा निर्वाचन कार्यालय स्थापना गरेको छ।

प्रतिनिधिसभा र सातवटै प्रदेशसभाका सदस्यले त्यहाँ आएर फागुन २५ गते मतदान गर्नेछन्।

राष्ट्रपतिको निर्वाचनका लागि शनिबार कांग्रेसका नेता रामचन्द्र पौडेल र एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले उमेदवारी दर्ता गराएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आगामी फागुन २८ गते सकिँदैछ।

पछिल्लो जनगणनाको अन्तिम विवरण सरकारलाई बुझाउन बाँकी नै रहेको भन्दै यसपाली विसं २०६८ सालको जनगणनालाई नै आधार बनाइएको छ।

अहिले सङ्घीय संसद्का सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ।

संविधानअनुसार सङ्घीय र प्रदेशसभातर्फका तत्काल कायम रहेका कुल सदस्य सङ्ख्याको बहुमत अर्थात् ५० प्रतिशत मत ल्याउने व्यक्ति राष्ट्रपति निर्वाचित हुनेछ।

यदि पहिलो निर्वाचनमा कसैले ५० प्रतिशत मत नल्याए सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुन्छ र बहुमत ल्याउने व्यक्ति राष्ट्रपति बन्छन्।

दोस्रो निर्वाचनमा पनि ५० प्रतिशत कसैले ल्याउन नसकेमा पुनः मतदान हुनेछ र त्यसमा कुल सदर मतको सबैभन्दा बढी मत प्राप्त गर्ने व्यक्ति राष्ट्रपति हुनेछ।

सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेबीच लगभग १ हजार मतभारको अन्तर रहेको आँकडाहरूले देखाउँछ।

निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहेका व्यक्ति राष्ट्रपति निर्वाचित भएमा निजको त्यस्तो पद स्वतः रिक्त हुने संवैधानिक व्यवस्था छ।