बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सरकारमा दुई दल : मन्त्रिपरिषदमा मनमौजी

मंगलबार, फाल्गुन १६ २०७९

काठमाडौं । राष्ट्रपति चयनमा पुस १० को सहमति कार्यन्यवनमा प्रधानमन्त्री प्रचण्ड नदेखिएका पछि एमाले सरकारबाट बाहिरिएको छ ।

एमालेबाट मन्त्री बनेका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा बुझाएकाे लगत्तै प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्‍को बैठक बस्यो । उक्त बैठकले  ‘जनयुद्ध’ र जनआन्दोलनका सहिदहरूको नाम राजपत्रमा प्रकाशन गर्नेगरि निर्णयसमेत गर्यो ।  

सोमबार बसेको मन्त्रिपरिषद्‍को बैठकले ‘जनयुद्ध र जनआन्दोलनमा ज्यान गुमाएकाहरूको नाम राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको हो ।

यसअघि नै सरकारले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक विदा दिने निर्णय गरेको थियो। माओवादीले सुरु गरेको हिंसालाई जनयुद्ध दिवस भनेर सार्वजनिक विदा दिएको भन्दै विरोध समेत भएको थियो ।

यसअघि नै एमालेका ८ मन्त्री राजीनामा बुझाएलगत्तै मन्त्रिपरिषदको बैठक बसेको थियाे । रास्वपा र राप्रपाबाट सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीले यसअघि नै राजीनामा दिइसकेका छन्।

हाल मन्त्रिपरिषदमा नेकपा माओवादी केन्द्र र नेपाल जनमत पार्टी मात्रै छन्।

राष्ट्रपति निर्वाचनको प्रभाव सत्ता समीकरणमा देखिएको छ। सत्तामा रहेको दल राप्रपा र एमालेले सरकारको समर्थन फिर्ता लिएका छन् भने रास्वपाले सरकारबाट बाहिरिएको छ। 

अब नयाँ आठ दलीय गठबन्धन बनेको छ। नयाँ गठबन्धनमा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी रहेका छन्।

संविधानअनुसार २५ सदस्यीय मन्त्री परिषद् रहने व्यवस्था छ। प्रचण्डको काँधमा १६ मन्त्रालय रहेका छन्।