काठमाडौँ – तीन जना बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
ललितपुर प्रहरीले चीनको फुजेन मेन घर भई हाल ललितपुरको सोह्रखुट्टे बस्ने ४९ वर्षीय यङ लिमिङलाई पक्राउ गरेको हो । उनीविरुद्ध तीन जना बालिकाले जबरजस्ती करणीको आरोपमा जाहेरी दिएको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले बताएका छन् ।
उनले दुई बालिकालाई पोखराबाट काठमाडौंमा बोलाई उनको ललितपुरस्थित डेरामा लगि जबरजस्ती करणी गरेको भन्दै जाहेरी परेको छ । उनले १७ वर्षीया नाबालिकलाई माघ १० गते राति र अर्की १७ वर्षीया बालिकालाई फागुन ११ गते राति जबरजस्ती करणी गरेको आरोप छ ।
यस्तै उनले अर्की १३ वर्षीया नाबालिकालाई पनि झापाबाट बोलाएर कोठामा राखेको पाइएको छ । उनलाई पनि जबरजस्ती करणी गर्ने उद्देश्यले राखेको पाइएको प्रहरीले जनाएको छ । पक्राउ परेका चिनियाँ नागरिकविरुद्ध प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान अगाडि बढाएको एसएसपी शाहले जानकारी दिएका छन् ।