काठमाडौँ – नेपालमा घटेका पछिल्लो केहीँ घटना क्रमलाई नजिक बाट निहाल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवम् कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गीले देश राजनीतिमा मात्रै केन्द्रित भएको बताएका छन् । शनिबार खोटाङ उद्योग वाणिज्य संघको २५ औं वार्षिक साधारणसभामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सुमार्गीले देश राजनीतिमा मात्रै केन्द्रित भयो अब अर्थनीतिमा केन्द्रित हुन जरुरी रहेको बताएका हुन् ।
हालै देखिन लागेको विश्वव्यापी आर्थिक मन्दीलाई मध्यनजर गर्दै नेपालले उत्पादनमुलक क्षेत्रमा व्यापक लगानी गर्नु पर्ने सुमार्गीले सुझाएका छन् । उनले खोटाङलाई आर्थिक,पर्यटकीय दृष्टिकोणले बलियो बनाउन निजि क्षेत्र,स्थानीय सरकार,प्रदेश सरकार र केन्द्र सरकारसंग हातेमालो गर्नुपर्ने समेत धारणा राखेका छन् ।
सुमार्गीले आउदै गरेको उद्योग वाणिज्य संघको महाधिवेशनमा आफुले केन्द्रिय उपाध्यक्षमा उम्मेदवारी दिन लागेकोले जिल्ला नगरतर्फ सहयोग गर्न अपिलसमेत गरेका थिए । उनले खोटाङसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको जिकिर गर्दै न्यानो मायाको प्रशंसा उठान गरेका थिए। संघको २५ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशन र सचिवालय भवन उद्घाटन समारोहका अध्यक्ष उपेनकुमार राईको सभापतित्वमा सप्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य रामकुमार राई रहेका थिए ।
कार्यक्रममा विशेष अतिथिका रुपमा महासंघका केन्द्रिय सदस्य एवम् उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गी रहेका थिए । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कृष्ण कटुवाल,ओखलढुंगा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र मास्के,भोजपुर उद्योग वाणिज्य संघका अध्यक्ष कर्ण मोक्तान, खोटाङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष राजु लयालु,स्थानीय जनप्रतिनिधि तथा उद्योगी व्यवसायीको उपस्थिती रहेको थियो ।