बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित नौ जना पक्राउ 

शुक्रबार, फाल्गुन १२ २०७९

काठमाडौं – रूपन्देहीको बुटवल उपमहानगरपालिका–१२ ढवाहा पिसपार्कस्थित खाजा घरबाट अवैध लागूऔषध चरेश १४ केजीसहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उक्त खाजा घरका संचालक ६५ वर्षीय काशी प्रसाद छन्त्याल, .बाग्लुङ निस्ती गाउँपालिका–६ घर भएकी ५० वर्षीया बिरमा बुढा र ३० वर्षीया जेनी घर्तिमगर रहेका छन् । विशेष सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।  

सिरहाको सिरहा नगरपालिका–१६ स्थित माडर मिलनचोक जाने सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ सय ४० मिलिग्रामसहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कल्याणपुर नगरपालिका–३ बस्ने २३ वर्षीय प्रमोद कुमार मण्डल, १९ वर्षीय जितेन्द्र कुमार महरा र १९ वर्षीय बीरेन्द्र कुमार मण्डल रहेका छन् । ईलाका प्रहरी कार्यालय माडर सिरहाबाट खटिएको प्रहरीले स.१० प ४३९८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

सुर्खेतको बीरेन्द्रनगर नगरपालिका–३ मुलपानी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९० मिलिग्रामसहित सोही नगरपालिका–२ बस्ने २१ वर्षीय अशोक बुढालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालयबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

कैलालीको जानकी गाउँपालिका–९ कटासेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६० मिलिग्रामसहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँस्थित कुन्ती टोल बस्ने २९ वर्षीय हर्क परियार र १८ वर्षीय किशोर रहेका छन् । प्रहरी चौकी अमरावतीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।