मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित २१ जना पक्राउ 

बिहिबार, फाल्गुन ११ २०७९

काठमाडौं – सिन्धुलीको मरिण गाउँपालिका–४ चुरे जंगलबाट अवैध लागूऔषध गाँजा करिब १ सय १५ किलोग्राम, मोटरसाइकल ३ थान र खुकुरी २ थानसहित हरिहरपुरगढी गाउँपालिका–७ बस्ने ५१ वर्षीय चन्द बहादुर वाईबा समेत ४ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । हरिहरपुरगढी गाउँपालिका–७ हरलाभरला हुँदै लालबन्दीतर्फ मोटरसाइकलमा लैजाँदै गरेको गाँजा जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटीएको प्रहरीले फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

मोरङको विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ ३ ग्राम ७३ मिलिग्रामसहित सुनसरी ईटहरी उपमहानगरपालिका–४ बस्ने २४ वर्षीय अमिर राईसमेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०२–०४४ प १९१४ नम्बरको मोटरसाइकललाई लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । 

यसैगरी मोरङको पथरीशनिश्चरे नगरपालिका–१ सुन्दरबस्तीबाट नियन्त्रित लागूऔषध स्पाईस्पेन १ सय ७५ ट्याब्लेट ट्रामाटोल १ सय ७५ ट्याब्लेट र नगद ४ हजार ४० रुपैयाँसहित सोही ठाउँ बस्ने ३३ वर्षीय पदम तामाङसमेत ७ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

बाँकेको नेपालगंज उपमहानगरपालिका–१८ राझा चोकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ १० ग्रामसहित जानकी गाउँपालिका–६ बस्ने २५ वर्षीय बेनिधर बाहुन तिवारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । सर्लाही, लालबन्दी नगरपालिका–१३ लखनदेहीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ९० ग्रामसहित सोही ठाउँ बस्ने २१ वर्षीय विशाल थिङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरीले प्र २–०३ –०१ प ६१०० नम्बरको स्कुटर चालक थिङलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

सुनसरीको ईटहरी उपमहानगरपालिका–४ डेरा गरी बस्ने झापा कन्काई नगरपालिका–३ घर भएका २४ वर्षीय राजिव अधिकारी लगायत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने बस्तु ४२ ग्रामसहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । उनको कोठामा लागूऔषधको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले कोठा जाँच गर्ने क्रममा उक्त बस्तुसहित फेला पारी तीनै जनालाई पक्राउ गरेको हो । झापाको विर्तामोड नगरपालिका–३ स्थित होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्रामसहित सोही नगरपालिका–१ बस्ने २३ वर्षीय नितेश राज उप्रेती समेत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।