बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राष्ट्रपतिमा सहयोग गर्न प्रधानमन्त्री प्रचण्डसँग कांग्रेसको प्रस्ताव

सोमबार, फाल्गुन ८ २०७९

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्।

राष्ट्रपति निर्वाचनमा मिलेर जान नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री  प्रचण्डलाई कांग्रेसले प्रस्ताव समेत गरेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला,उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापासहित शीर्ष नेता आइतबार बेलुकी बालुवाटार पुगेर राष्ट्रपतिमा कांग्रेसले उठाउने उम्मेदवारलाई माओवादीबाट सहयोग गर्न प्रस्ताव गरे ।

राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई सहयोग गर्नुहोस् भनेर सभापतिले राखेकाे प्रस्तावमा प्रधानमन्त्रीको सकारात्मक जवाफ पाएको एक नेताले बताए । प्रधानमन्त्री प्रचण्डले पार्टीमा छलफल गरेर निर्णय दिने आश्वासन दिएको उनले बताए ।

गत पुस २६ गते प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिएपछि कांग्रेसका नेताहरू प्रधानमन्त्रीसँग भेटघाटलाई तीव्रता दिइरहेका छन्। कांग्रेसका दोस्रो तहका नेताहरुले प्रचण्डसँग बाक्लो रुपमा छलफल चलाइरहेको र उनीबाट पनि सकारात्मक जवाफ पाएको उनीहरुले बताएका छन् ।

कांग्रेसले कसलाई राष्ट्रपति उम्मेदवार बनाउने निर्णय भने गरिसकेको छैन। नेता रामचन्द्र पौडेल वा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलामध्ये एक जनालाई राष्ट्रपति उम्मेदवार बनाउने कांग्रेसको तयारी छ। सभापति देउवा पौडेललाई उम्मेदवार बनाउने पक्षमा उभिएका छन् ।  

कांग्रेसले राष्ट्रपति निर्वाचनमा सहयोगको औपचारिक प्रस्ताव राखेका बेला माओवादी पदाधिकारी बैठक आज बस्दैछ।

प्रधानमन्त्रीसहित माओवादीका नेताहरू राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खोज्ने प्रयासमा छन्। तर सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गत पुस १० को सहमतिअनुसार राष्ट्रपतिमा एमालेलाई सहयोग गर्नुपर्नेमा छन्।

पुस १० गते प्रचण्ड नेतृत्वको सरकार गठनपूर्व सत्ता गठबन्धनमा राष्ट्रपति एमालेले पाउने सहमति बनेको थियो । त्यसअनुसार एमालेले राष्ट्रपतिमा आफ्नो उम्मेदवार उठाउने र उसलाई माओवादीले समर्थन गर्नुपर्ने अडान राख्दै छ । तर, कांग्रेसले सरकारलाई विश्वासको मत दिएसँगै प्रचण्डले राष्ट्रिय सहमति खोजेपछि एमाले झस्किएको छ ।
फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि १३ गते मनोनयन दर्ता हुँदैछ ।