बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

भोट दिनुस् तर नोट नलिनुस् ;यादव

बिहिबार, बैशाख २१ २०७४

काठमाडौं, २१ वैशाख ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले योग्य उम्मेदवारलाई ‘भोट दिन तर नोट नलिन’ आग्रह गरेका छन् । ‘मतदातालाई प्रभावमा पार्न कुनै उम्मेदवारले नोट पनि दिन सक्छन् तर नोट नलिनुहोला,’ उनले मतदातासँग अनुरोध गरे ।  गोरखापत्रमा समाचार छ ।

‘बहिरा नागरिकका लागि स्थानीय निर्वाचन’सम्बन्धी बुधबार आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा उनले मनोनयनपछि उम्मेदवार निकै उत्साहपूर्वक र खुसियालीसहित आफ्नो दलको झन्डा र चुनावचिह्नमा निर्वाचन प्रचारप्रसारमा लागेको जानकारी दिए ।  उम्मेदवारी मनोनयनपछि निर्वाचनको वातावरण फागुपूर्णिमा पर्वजस्तो रंगीचंगी र उत्साहित बनेको छ भन्दै सामाजिक र सांस्कृतिक रूपमा मिलेर बसेको हाम्रो समाजमा निर्वाचन प्रचारप्रसारका क्रममा एकअर्कामा होच्याउने र अवहेलना गर्न कार्य नगर्न उम्मेदवारहरूसँग अनुरोध गरे ।  

उम्मेदवारहरूले मनोनयन दर्ता गर्नुअघि भगवानन्सँग आशीर्वाद लिएर गएका छन्, अब उनीहरूले कानुनको बर्खिलाप गर्छन्  भन्ने मलाई लाग्दैन भन्दै प्रमुख आयुक्त यादवले अहिले नै कानुन उल्लंघन गरे भने निर्वाचित भएपछि झन् उनीहरूले कसरी कानुन पालना गर्छन्  भनी प्रश्न सोध्न सुझाव दिए।  

निर्वाचनको वातावरण र सुनिश्चितताका लागि अतुलनीय योगदन पु¥याएको भनी आमसञ्चार माध्यमको प्रशंसा गर्दै प्रमुख निर्वाचन आयुक्त डा. यादवले राजनीतिक दल र उम्मेदवारले निर्वाचनको प्रचारप्रसारका क्रममा हुनसक्ने तडकभडक र आचारसंहिता पालना गरे÷नगरेको बारे अनुगमन र निगरानी गर्न सुझाव दिए ।

निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले बाजागाजासहित शान्तिपूर्ण र उत्साहित रूपमा भएको उम्मेदवारी मनोनयनले निर्वाचनसम्बन्धी सबै दुविधालाई शान्त पारेको बताए।