काठमाडौँ : उपप्रधान एवम् गृहमन्त्रीसँगै पार्टी नेतृत्वबाट समेत बाहिरिएका रवि लामिछाने २४ घण्टा नबित्दै फेरि राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति चयन भएका छन् ।
पार्टीको केन्द्रीय समिति बैठकले लामिछानेलाई पुनः आज (आइतबार) सभापतिमा चयन गरेको हो । सो पार्टीका एक नेताले दिएको जानकारीअनुसार लामिछानेलाई सभापतिमा पुनः चयन गरेको हो । रास्वपाका एक नेताले दिएको जानकारीअनुसार लामिछानेलाई फेरि गृहमन्त्रीकै रुपमा पठाउने तयारी छ ।
गृह मन्त्रालय नपाए आफूहरु सरकारबाट बाहिरिने तयारीमा रहेको रास्वपाका ती नेताले बताएका छन् । ‘गृह मन्त्रालय नपाए हामी सरकारबाट बाहिरिन्छौं’, उनले भने, ‘गृह मन्त्रालय हाम्रो बटमलाइन हो । त्यसमा तलमाथि हुँदैन ।’ सर्वोच्च अदालतले नागरिकता विवादमा दोषी ठहराएसँगै लामिछानेको सांसद, मन्त्री र पार्टी सभापति पद गुमेको थियो ।
आज बिहान काठमाडौं प्रशासन पुगेर पुनः नेपाली नागरिकता कायम गरेसँगै उनी धुम्बाराहीस्थित पार्टी मुख्यालय पुगेका थिए । कार्यवाहक सभापति डीपी अर्यालको सभापतित्वमा बसेको बैठकले उनलाई राजीनामाको ४८ घण्टा नबित्दै सभापतिमा लामिछानेलाई पुनः स्थापित गरेको छ ।