बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

सशस्त्र डिआइजीको बढुवा प्रक्रिया एकाएक रोक्का

आइतबार, माघ १५ २०७९

काठमाडौँ – सशस्त्र प्रहरी बलले थालेको रिक्त डिआइजी पदको बढुवा प्रक्रिया एकाएक रोकिएको छ । हिजो शुरु गर्न लागिएको बढुवा प्रक्रियाको अन्तिम चरणमा ‘ब्रेक’ लागेको छ । 

वरिष्ठताको आधारमा बढुवा गर्न खोजिएपछि शक्तिकेन्द्रको प्रयोग गरिएको स्रोतको दाबी छ । ‘एसएसपीहरुमध्ये सिनियरहरुबाट बढुवा गर्न थालिएको थियो,सबै प्रक्रिया अघि बढेको अवस्थामा हिजो एकाएक रोकिएको खबर आएको छ,’हल्चोक स्रोतले भन्यो ।

सशस्त्र प्रहरीभित्र विगतदेखि हुँदै आएको भेगीय राजनीतिले यस पटक पनि असर देखाएको हो । सुदूरपश्चिमको नाता लगाउँदै आर्थिक प्रशासनका एसएसपी दीपेन्द्र कुँवरको एक्लो प्रयासमा गृहको च्यानलबाट बढुवा प्रक्रिया रोकिएको बताइन्छ । ‘अहिले वरिष्ठताको आधारमा बढुवा गरिँदा आगामी दिनमा महानिरीक्षक हुने बेलामा पछाडि पर्ने जोड घटाउले काम गरेपछि उनले च्यानल प्रयोग गरेका हुन्,’ सशस्त्र स्रोत भन्छ, ‘वरिष्ठता मिचेर बढुवा हुने बहाना खोज्दै प्रक्रिया रोक्का गराएका छन् । उनका लागि न बालकृष्ण,न रवि -सबै बराबर ।’

कुँवरले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका स्वकीय सचिव दीपक बोहोराको फेरो समातेको बताइन्छ । डडेल्धुराका बोहोरालाई कुँवरले सुदूरपश्चिमको नाता लगाउँदै उचालेको चर्चा छ । उनै बोहोराले विभिन्न हवाला दिएर सशस्त्र प्रहरीमा बढुवाको प्रक्रिया हाललाई स्थगित गर्न भनेपछि रोकिएको हो । ‘यसअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका पालामा सुदूरपश्चिमको नाम बेचेर खाएका भतिज पीए भानु देउवाहरुकै शैलीमा अहिले पनि त्यही प्रक्रिया थालेका छन्,’ गृह स्रोतको दाबी छ ।

गृहबाट ढिलोमा चैत र छिटोमा राष्ट्रपतिको आगामी चुनावसम्म बढुवा प्रक्रिया रोक्न आदेश गएको बताइन्छ । मन्त्रीका पीए बोहोराले देउवाकै मान्छेहरुको हितमा मन्त्रालयको शक्ति प्रयोग गर्नुलाई राजनीतिक वृत्तमा मात्र होइन,सशस्त्रमा समेत अनौठो मानिएको छ ।

बढुवाको निम्ति उम्मेदवार रहेका एसएसपीहरु वरिष्ठताको आधारमा क्रमश: कृष्ण पाठक, दीपेन्द्र शाह,सुरेश श्रेष्ठ पुरुषोत्तम थापा छन् । गत असार र साउन गरि दुई वटा ब्याचमा एसपीहरुको बढुवा भएको थियो । त्यसमध्ये पाठक,शाह,श्रेष्ठ र थापा असारमा प्रकाशित बढुवामा पहिलो ब्याचका हुन् । दीपेन्द्र कुँवर साउनमा बढुवा भएको दोस्रो ब्याचका हुन् ।

तर यसबीचमा ती दुबै ब्याचमा बढुवा भएकामध्ये कसैले पनि कमाण्ड पूरा गरेका छैनन् । सामान्यतयाः कमाण्ड पूरा गरेपछि मात्र बढुवा गर्नुपर्ने आवाज उठेपछि बढुवा प्रक्रिया रोकिएको हुनसक्ने एकथरीको भनाइ छ । उनीहरुमध्ये अधिकांश गत कात्तिकदेखि मात्रै पेन्सन प्राप्त गर्ने हैसियतमा पुगेको बताइन्छ । जनआस्थाबाट