बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक आज पनि बस्दै

मंगलबार, पुष १९ २०७९

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठक आज पनि बस्दैछ । बैठकमा सरकारमा सहभागी हुने नहुने भन्नेबारेमा छलफल चलिरहेको छ । 

पोलिटब्युरो सदस्यहरुले सुझाव दिने काम नसकिएकाले आज पनि बैठक बस्न लागेको हो ।

बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रिय कार्यालयमा बस्नेछ । पार्टीले सरकारमा कसैले औपचारिक रुपमा सहभागी हुन नभने सहभागी नबन्ने धारणा राखिसकेको छ ।

बैठकको प्रारम्भमा अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी प्रचण्ड नेतृत्वको सरकारमा सामेल नहुने बताएका थिए ।

बैठकमा उनले आफ्नो पार्टीले वर्तमान राजनीतिक परिस्थितिमा ठिक गरिरहेको उल्लेख गर्दै कसैसामु लत्रने पक्षमा नरहेको दाबी गरेका थिए ।

उनले पछिल्लो पटक नेपाली कांग्रेस नेतृत्वको गठबन्धन टुट्नुको कारण र सो गठबन्धन कायम हुन नसकेपछि विकास भएको राजनीतिक घटनाक्रमका बारे जानकारी गराउँदै प्रतिगमन र पुनरुत्थानवादीको जगमा उभिएको वर्तमान सरकारमा पार्टी सहभागी हुन नहुने प्रस्ताव राखेका थिए ।

प्रचारविभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार सोमबारको बैठकमा वर्तमान सरकारलाई हेर्ने दृष्टिकोण, सरकारमा पार्टीको सहभागिता लगायतका विषयमा केन्द्रित भएर ३० नेताले धारणा राखेका थिए ।

वामपन्थी शक्तिसँग एकताका विषयमा प्राथमिकता दिनुपर्नेमा अधिकांश नेताको साझा धारणा देखिएको छ ।