बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

फिफा विश्वकप २०२२ को उपाधि भिडन्त आज :   सुरक्षित अवतरणको खाेजीमा मेस्सी  

आइतबार, पुष ३ २०७९

काठमाडौं । कतारमा जारी २२ औँ विश्वकप फुटबलको उपाधिका लागि आइतबार साँझ साबिक विजेता फ्रान्स र दुई पटकको विजेता अर्जेन्टिना भिड्दै छन्।

कतारको सबैभन्दा ठूलो लुसेल स्टेडियममा  नेपाली समयअनुसार साँझ पौने ९ बजे सुरु हुने खेलमा जसले जिते पनि तेस्रो पटक विश्व च्याम्पियन बन्नेछन् ।

फ्रान्स ब्राजिलपछि लगातार उपाधि जित्ने टोली बन्न चाहन्छ । १९६२ मा ब्राजिलले उपाधि रक्षा गरेको थियो । २०१८ मा रसिया विश्वकपको उपाधि जितेको फ्रान्स पनि ब्राजिललाई पछ्याउने होडमा छ ।

यता, विश्व फुटबलका सुपरस्टार लियोनल मेस्सी विश्वकप उपाधि उचाल्दै आफ्नो करिअरलाई सुरक्षित अवतरण गराउन चाहान्छन् ।

७ पटकका फिफा वर्ष खेलाडी मेस्सीका लागि विश्व च्याम्पियन बन्ने यो अन्तिम अवसर हो। उनले यो आफ्नो अन्तिम विश्वकप भएको बताइसकेका छन्। मेस्सीकै कप्तानीमा अर्जेन्टिना सन् २०१४ को विश्वकपमा फाइनलमा पराजित भएको थियो।

आइतबार अर्जेन्टिनाले छैटौँपटक विश्वकपको फाइनल खेल्दै छ ।

अर्जेन्टिनाले ३६ वर्षयता यो प्रतियोगिता जित्न सकेको छैन । यसबीचमा २ पटक फाइनल पुगेर पराजित भएको थियो । सन् १९७८ मा पहिलो पटक विश्व विजेता बनेको अर्जेन्टिना त्यसपछि १९८६ मा दोस्रो पटक उपाधि जित्न सफल भएको थियो । सन् १९९० र २०१४ को संस्करणमा फाइनल पुगे पनि उपविजेता मै सीमित बनेको टोली यस पटक प्रतियोगिता जित्न भरमजबुर प्रयासरत छ ।

फ्रान्स विश्वकपको फाइनलमा चौथोपटक पुगेको हो । उसले दुईपल्ट उपाधि उचाल्दा एकपल्ट फाइनलमा पराजित हुनुपरेको छ । फ्रान्सले १९९८ मा घरमै उपाधि उचालेको थियो भने यसअघि सन् २०१८ मा रुसमा भएको विश्वकपको पनि च्याम्पियन बनेको थियो । यस्तै, फ्रान्स २००६ मा फाइनलमा पुगेर पनि रोकिएको थियो ।

फ्रान्स र अर्जेन्टिना यसअघि तीनपटक विश्वकपमा आमने-सामने भएका छन् । अर्जेन्टिनाले १९३० र १९७८ को विश्वकपमा फ्रान्समाथि जित हात पार्दा २०१८ को विश्वकपमा भने फ्रान्सले अर्जेन्टिनालाई ४-३ ले पन्छाएको थियो । समग्र हेड टू हेडमा भने अर्जेन्टिना फ्रान्समाथि ६-३ ले अघि छ । बाँकी तीन खेलमा यी दुई टोलीले बराबरीको नतिजा निकालेका छन् ।