बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

विश्वकप फुटबल : उपाधिसहित गोल्डेनबुटका लागि भिडन्त

बिहिबार, मंसिर २९ २०७९

काठमाडौं ।  विश्वकप फुटबलको उपाधिका लागि साविक विजेता फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन् । 

गए राति भएको सेमिफाइनलमा मोरक्कोलाई पराजित गरेपछि फ्रान्सले अर्जेन्टिनासितको उपाधि भिडन्त पक्का गरेको हो । 

कतारको दोहास्थित अल बायत रङ्गशालामा भएको दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २–० गोलअन्तरले हराएको हो ।  फ्रान्सले खेलको पहिलो हाफमा एक गोल गर्यो भने दोस्रो हाफमा थप एक गोल गर्दै फाइनलका लागि स्थान सुरक्षित गरेको हो ।  

फ्रान्सका लागि थिओ हर्नान्डेज र रान्दल कोलो मुवानीले गोल गरेका थिए । हर्नान्डेजले खेलको पाँचौ मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । उनले पेनाल्टी क्षेत्रभित्र रिबाउन्डबाट आएको बलको सदुपयोग गर्दै गोल गरेका थिए । 

त्यस्तै खेलको ७९औँ मिनेटमा सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका मुवानीले गोल गर्दै फ्रान्सलाई २–० को जित दिलाए । उनले बेन्चबाट मैदान छिरेको एक मिनेट नबित्दै गोल गरेका थिए । उनी ओसुमाने डेम्बेलेको स्थानमा मैदान प्रवेश गरेका थिए । 

यसअघि फ्रान्स क्वाटरफाइनलमा इङ्गल्यान्डलाई २–१ गोलले हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो । त्यस्तै पहिलोपटक सेमिफाइनलमा पुगेको अफ्रिकी राष्ट्र मोरक्कोले क्वाटरफाइनलमा पोर्चुगललाई १–० गोलले हराएको थियो । यसअघि अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलअन्तरले हराएर फाइनल यात्रा तय गरेको हो ।

जारी विश्वकप फुटबलमा यी दुवै टोलीका चार फरवार्ड गोल्डेनबुटको दाबेदारसमेत छन् । अर्जेन्टिनाका मेस्सी र फ्रान्सका एम्बाप्पेले समान पाँच गोल गर्दा फ्रान्सका जिरुड र अर्जेन्टिनाका अल्भारेजले समान चार गोल गरेका छन् ।

मेस्सी र एम्बाप्पे व्यावसायिक फुटबल भने एउटै क्लब पिएसजीबाट खेल्छन् ।

फाइनल खेल आइतबार हुनेछ ।