काठमाडौं । मंसिर ४ गते आसन्न निर्वाचनका लागि यति बेला राजनीतिक दलहरुले चुनाव प्रचारप्रसार र घरदैलो कार्यक्रमलाई व्यस्त बनाइरहेका छन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भावी प्रधानमन्त्रीका रुपमा अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारेको छ ।
एमाले अध्यक्ष ओली एकैदिन कम्तिमा तीन जिल्लका तीन चुनावी सभालाई सम्बोधन गरिरहेका छन् । समृद्ध नेपाल बनाउने सुदृढ शक्ति एमाले नै भएको बताउँदै उनी चुनावी प्रचारका लागि देश दौडाहमा छन् । देशको विकास गर्न, स्वाभिमान माथि उठाउन, हरेक नेपालीलाई सुखी बनाउन देशमा एमालेको सरकार चाहिएको बताउँदै अध्यक्ष ओलीले जिल्ला जिल्लामा पुगेर एमालेका उम्मेदवारहरुका पक्षमा सूर्यचिन्हमा मतदान गरी अत्यधिक मतका साथ विजयी बनाउन आग्रह गरिरहेका छन् ।
तर आफूलाई जनताका बीचमा असाध्यै लोकप्रिय दाबी गर्ने अन्यदलका शीर्ष नेताहरू भने आफ्नै निर्वाचन क्षेत्रका मतदाता फकाउन आफ्नो सम्पूर्ण ऊर्जा खर्च गरिरहेका छन् ।
यसकाे कारण अरू केही नभएर पाँच वर्ष मुख नदेखाएको र आफ्नै पार्टीका सदस्यहरूलाई समेट्न नसकेको, आम नागरिकका चासोलाई उचित रूपमा सम्बोधन गर्न नसकेको परिणाम हो भनेर बुझ्नुपर्ने भएको छ ।
अचम्म त के छ भने नेपाली कांग्रेसका चर्चित र देशको नेतृत्व दाबी गर्नेहरूमध्ये महामन्त्री गगनकुमार थापा आफ्नै क्षेत्र काठमाडौं–४ मा मात्रै सीमित छन् । उनलाई समर्थन गर्न चर्चित व्यक्तित्व डा. गोविन्द केसीसमेत घरदैलोमा पुग्न बाध्य छन् ।
पटक पटक चुनाव जितेका थापाले आफूलाई यसपटक पनि यहाँका मतदाताले जिताउनु पर्ने बताउँदै आएका छन् । यदि कथमकदाचित नजिताए आफू प्रधानमन्त्री बन्न नसक्ने र देश परिवर्तन पनि नहुने भन्दै मतदाता रिझाउँदै, धम्क्याउँदै छन् । निर्वाचन जित्न बेला बखत यस्तै फण्डा गर्दै आएका थापालाई यस अघिको चुनावमा जित्न आफैँले बम पड्काएको आरोप समेत लागेको थियो । यसपटक उनले आगामी निर्वाचन पछि आफू प्रधानमन्त्री बन्ने र देश विकास गर्ने फण्डा चलाएको यही क्षेत्रका मतदाताले भन्न थालेका छन् ।
कांग्रेसमा प्रधानमन्त्री बन्ने अभिलाषा पालेका र आगामी निर्वाचन पछि आफू नै प्रधानमन्त्री बन्ने दाबी गर्दै भोट माग्नेको लामाे लस्कर नै बनेको छ । तर सोमबार मात्र नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले भावी सरकारको नेतृत्व कांग्रेसले गर्ने र त्यसमा प्रधानमन्त्री पनि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नै हुने बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका थिए ।
अरु त अरु पाँच पटक देशको नेतृत्व गरेर प्रधानमन्त्री बनेका शेरबहादुर देउवा पनि यस पटक ६ पटक गृहजिल्ला पुगिसकेका छन् । उनले आफ्नो जिल्ला डडेल्धुराका पाँच ठाउँमा पुगेर सम्बोधन गरे । ६ पटकसम्म संसदीय निर्वाचनमा विजयी भएका देउवा आफ्नो जन्म जिल्लाका मतदातासँग विजयको याचना गर्दै यसरी ६ पटक हेलिकप्टर चढेर पुग्न किन बाध्य भए ?
उनी आफ्नै पुराना सहकर्मीहरूको विरोध र नयाँ युवाको प्रचारसामु निरीह देखिएका छन् । उनलाई पुराना विश्वासिला सहयोगी बिपी कांग्रेसका उम्मेदवार कर्णबहादुर मल्ल र स्वतन्त्र युवा उम्मेदवार सागर ढकालले जनतालाई एकोहोर्याउने भय व्याप्त भएकै कारण उनी यसरी डडेल्धुरा पुगेका हुन् । यसैगरी साेही भयका कारण चुनावमा मत दिएर जिताएमा अनेक ठाउँमा नियुक्ति दिनेदेखि फ्री भिसा फ्री टिकटको लालच दिनुपरेको छ । प्राय राजधानी बाहिरको सभामा नजाने देउवा यस पटक प्रचारका लागि निर्धारित १७ कात्तिकयता अरु ५ जिल्लामा भने पुगेका छन् ।
यसैगरी कांग्रेसका अरू नेताहरू उपसभापति पूर्णबहादुर खड्का सुर्खेत १ मा सीमित भएका छन् भने महामन्त्री विश्वप्रकाश शर्मा झापा १ मा गाउँ दौडाहमा छन् । अर्का उपसभापति धनराज गुरुङले स्याङ्जा छाड्न सकेका छैनन् ।
कांग्रेसका अर्का नेता डा शेखर कोइराला पनि मोरङमा घुमिरहेका छन्। डा. शशांक काेइरालाको पीडा नवलपुर १ मा नै पोखिँदै छ । अनि राजधानीबाट देश हाँक्छु भन्ने प्रकाशमान सिंह गणेशमानको नाम लिँदै काठमाडौं–१ मा नै घुमिरहेका छन् । यी तीनै नेता भावी प्रधानमन्त्री दाबेदार प्रस्तुत गर्ने नेता हुन् ।
प्रधानमन्त्रीका अर्का दाबेदर बृद्ध अनि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई हिजो मात्र गठबन्धनको अर्को प्रमुख दल माओवादीका अध्यक्ष प्रचण्डले भावी प्रधानमन्त्रीको ललीपप खुवाईदिए पछि फुरुङ्ग परेका छन् । फूरुङ्ग पर्दै त्यही सभाबाट उनले प्रचण्ड शान्ति र क्रान्तिका नायक सम्म भन्न भ्याए । तर भावी प्रधानमन्त्री बन्न त कहाँ कहाँ तनहुँबाट चुनाव जित्न समेत उनलाई धौधौ छ । उनलाई पुराना सहकर्मी स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले आच्छुआच्छु खेलाइरहेका छन् । सायद पौडेलका लागि यो निर्वाचन जीवनको अन्तिम परीक्षण हुनुपर्छ । त्यसैकारण उनी अन्यत्रका कुनै पनि उम्मेदवारका निम्ति भोट माग्न जान सकेका छैनन् ।
नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रौतहटमा ‘फ्री टिकट र फ्री भिसा’को पाठ पढाउनमा व्यस्त छन् । यसअघिको केही निर्वाचनमा गृहजिल्ला छाडेर काठमाडौबाट चुनाव लडेका उनलाई यहाँका मतदाता फकाउन भ्याईनभ्याई छ । यसैकाे उपज उनी मतदातालाई ‘फ्री टिकट र फ्री भिसा’ भन्दै भोट मागिरहेका छन् । पार्टी फूटाएका कारण र काठमाडौं २ मा कमजोर भएपछि उनी पुरानो निर्वाचन क्षेत्र रौतहट झरेका छन् । स्थानीय निर्वाचनमा उनको पार्टी बलियो देखिएको भएपनि यसअघि क्षेत्र छाडेर गएका कारण उनी आलोचित पनि छन् । मतदाताको उक्त चित्त दुखाई चिर्न नेपाललाई हम्मेहम्मे परिरहेको छ ।
अर्का शीर्ष नेता झलनाथ खनाल इलाममा पसिना काढिरहेका छन् । गएको स्थानीय तहमा उनको पार्टीले अतिनै दुखदायी परिणाम ल्याएको यस क्षेत्रमा गठबन्धनका अन्य दलले सम्पूर्ण मत नखनाए उनले जित्न मुस्किल छ ।
एमालेका नेता सुवास नेम्वाङ, हुन् कि विष्णु पौडेल, ईश्वर पोख्रेल अथवा शंकर पोख्रेल पनि आफ्नै निर्वाचन क्षेत्रमा सीमित छन् । उपेन्द्र यादव, महन्त ठाकुरहरू पनि आफ्नै मतदाताको घरदैलोमा व्यस्त छन् । तर, उनीहरुले आफूलाई भावी प्रधानमन्त्रीको दावेदारी भने प्रस्तुत गरेका छैनन् ।