बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

गठबन्धनमा च्याँखे र झिंगे दाउ

शनिबार, कार्तिक १९ २०७९

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि राजनैतिक दलहरुले मिलेसम्म गठबन्धन नभए पनि तालमेल गरेर चुनावी प्रतिस्पर्धा गर्दैछन् ।

विशेषत: सरकारमा सामेल भएका नेपाली कांग्रेस, माओवादी केन्द्र, लोसपा, बाबुराम भट्टराई नेतृत्वकाे समाजवादी पार्टी र जनमोर्चाले देशभरका अधिकांश क्षेत्रमा चुनावी गठबन्धन गरेका छन् । 

प्रमुख प्रतिपक्ष एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीलाई देखाएर प्रतिगमनको हुइया चलाउँदै सत्ताधारी गठबन्धन आफ्नो दुनो सोझ्याउन चाहन्छ । एक्ला एक्लै चुनाव लड्दा एमाले हावी हुने देखेर सत्तारुढ दल विचार, सिद्धान्त, नीतिसम्मलाई तिलाञ्जली दिँदै गठजोड गर्न पुगेका छन् ।

नत सिद्धान्त, नत विचार नत गन्तव्य कुनै कुराको मेल नदेखिएका उनीहरुको स्वार्थ केन्द्रीत गठबन्धनलाई लिएर विभिन्न टिकाटिप्पणी हुन थालेको छ ।

यसै परिप्रेक्षमा प्रायजसो व्यङ्य विधामा कलम चलाउने महेश थापाले सरकारी गठबन्धनका विषयमा घतलाग्दाे टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमा प्रस्तुत गरेको विचार यस्तो छ …

सरकारी गठबन्धनमा च्याँखे र झिंगे दाउ थाप्नेहरूको हुजुम देखिन्छ । उपदाउमाथि समेत व्याख्यात्मक टिप्पणी गर्न एउटा कथै बुन्नुपर्ने हुँदा अहिलेलाई थाँती राखम् । चुनावको अन्तिम नतिजामा निर्णायक प्रभाव पार्न सक्ने देहायबमोजिम गठबन्धनभित्रका दाउ उर्फ गठेदाउ अहिले सतहमा देखिन्छन्:
१) प्रचण्ड दाउ: माओवादीको समर्थन बिना सरकार बनाउनै नसक्नेगरी कांग्रेसलाई छिमल्ने र येनकेन प्रकारेण आफू प्रधानमन्त्री पड्काउने ।
 
२) पौडेल दाउ: देउवा गुटले संसदीय दलमा बहुमत पुर्याउन नसक्ने थिति बनाउन सके शेखर गुट आफूलाई समर्थन गर्न बाध्य हुने र १९औँ ट्राइमा प्रमको मटक मार्ने । नत्र देउवालाई जदौ गरी राष्ट्रपति थाप्ने ।
 
३) शेखर दाउ: संसदीय मोर्चामा देउवालाई सकेसम्म कमजोर बनाई पार्टीसत्तामा आफू फर्किने सम्भावनालाई ज्यूँदो राख्ने ।
 
४) देउवा उर्फ वेस्टर्न दाउ: स्वतन्त्र नामको लैबरी ग्याङ र कांग्रेसले अनौपचारिक रूपमा खडा गराएका बागी मिलाई देउवा नेतृत्वमा गैरकम्युनिष्ट सरकार बनाउने । त्यसो गर्न सम्भव नभएको अवस्थामा पनि माओवादीलाई छ्याकन हानेर प्रचण्डलाई आउँदो पाँच वर्ष सत्ता बार्गेनिङमा ल्याङल्याङ गर्न नसक्ने हिसाबले खिनौटे पार्ने ।
 
५) एस दाउ: ‘एस’का कुनै पनि दाउलाई फिलहाल ‘नो’ भनम् ।
 
🔸 चुनाव हो; पार्टिकल बनाउँदा दैवले इलेक्ट्रोन, प्रोटोन र न्युट्रोनको संख्या ट्याक्क मिलाएर राख्देजस्तो सबै ट्याक्कै त नबस्ला । यता ताछ्दा, उता बढी छिमलिएला । एकातिर रन्दा लाउँदा, अर्कोपट्टि ज्यास्ती खुर्किएला । ताछ्दा, खुर्किंदा र चिल्याउँदा चिल्याउँदै झलमल्ल घाममा हेर्दा गठबन्धनको गाँठो त खिनौटिएर धागो भइरा’ रे क्या 😄