काठमाडौं , २८ चैत ।
नेपाल राष्ट्र बैंकले निजी बैंक सञ्चालकहरुमाथि निगरानी थप कडा बनाउने संकेत दिएको छ । बैंकमा जम्मा भएको पैशा सञ्चालकहरुले आफूखुसी चलाउन खोजेको राष्ट्र बैंकले ठहर गरेको छ । यस्तो प्रवृत्ति रोक्न राष्ट्र बैंकले भने सञ्चालकलाई पढाउने तयारी गरेको छ र यसका लागि आवश्यक पाठ्यक्रम समेत तयार पार्दैछ ।
हालै काठमाडौंमा जनता बैंकले आयोजना गरेको कार्यक्रममा बोल्दै राष्ट्र बैंकका गभर्नर चिरञ्जीबी नेपालले सञ्चालकलाई पनि पढाउन लागेको जानकारी दिएका छन् ।
उनले भने ‘सञ्चालकहरुले पनि पढ्न पर्ने भएको , बैंकमा भएको पैंसा सबै आफ्नै हो भन्ने सोच छ, यसलाई सच्याउन जरुरी छ यसैका लागि नै पाठ्यक्रम तयार पार्न लागेका हौ ।’ बैंकहरु अहिले नाफामुखी भएको गभर्नर नेपालले बताएका छन् । बैंकहरु क्षणिक नाफाको लागि नभई विकास निर्माणमा केन्द्रित हुनपर्ने उनको भनाइ छ । गभर्नरले भने ‘ विकास निर्माणमा सहयोग पुग्ने क्षेत्रमा लगानी गर्नुस, क्षणिक नाफा गरेर सञ्चालकलाई खुसी पार्ने काममा केन्द्रित नहुनुस् ।’
अहिले बैंक तथा बित्तीय संस्था सञ्चालका लागि बनेका नीति नियममा राष्ट्र बैंकले परिवतर्न गर्ने तयारी गरिरहेको छ । के कस्ता नीतिगत परिवर्तन गर्न लगिएको हो भन्ने बारेमा भने गभर्नरले केहि बताएनन् ।
उनले भने ‘अन्तर्राष्ट्रिय अभ्यासअनुसार बैंकका नीति नियम परिवर्तन गर्ने सोचमा छौं , सीसीडी रेसियो ८० प्रतिशत पुग्न लाग्यो बैंकलाई थाहा हुन्न र यसलाई पनि हामीले नै सजग गराउन पर्ने स्थिति छ अब यस्तो नहोस् भनेर नै केही नीतिगत परिवर्तन गर्ने तयारीमा छौं ।’
देशमा विकासका लागि पुँजीको अभाव भएको गभर्नर नेपालको भनाइ छ । ठूल–ठूला आयोजना निर्माणको लागि देशमा आवश्यक पुँजी नभएको उनले बताए ।
बिकास निर्माणका लागि भारतले लोकल बोन्डमार्फत कामहरु अघि बढाइरहेको छ । र यो सफल पनि भएको छ । तर नेपालमा भने यसको चर्चा चलेको पाचँ वर्ष भयो तर अझै लोकल बन्ड जारी गर्ने व्यवस्था हुन सकेको छैन ।
लोकल बोन्ड जारी गरेसँगै विकासका लागि बिदेशी वित्तीय निकायको मुख ताक्नुपर्ने बाध्यता हट्छ ।