बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

एमाले अध्यक्ष ओली गृहजिल्ला झापामा, यस्ता छन् तीन दिने झापा बसाइका कार्यक्रम

बिहिबार, भाद्र २ २०७९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा पुगेका छन् । अध्यक्ष ओली तीन दिन झापा लगायतका पूर्वका कार्यक्रममा सहभागी हुने छन् ।

अध्यक्ष ओलीलाई चन्द्रगढी बिमानस्थलमा एमाले नेता कार्यकर्ताहरुले भब्य स्वागत गरेका थिए। तीनसाता अघि चार दिन बसेर फर्किएका ओली फेरि तीनदिन बस्ने गरी झापा गएका छन्। 

एमाले प्रदेश कमिटी सदस्य होमबहादुर थापाका अनुसार अध्यक्ष ओली आज कचनकवल गाउँपालिकाको बनियानीमा आयोजना हुने कार्यक्रममा सहभागी हुने छन्  । यसैगरी बनियानीमा बृहत पार्टी प्रवेश तथा क्षेत्र नं ३ का कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष ओली नेपालकै होचो भूमी कचनकवल स्तम्भको अवलोकन गर्न पनि जाने कार्यक्रम छ । यसैगरी आज साँझ पाँच बजे आफ्नो निर्वाचन क्षेत्र दमकमा मैथीली समाज र मुस्लिम समाजका अगुवा कार्यकर्ताहरुसँग भेट्ने कार्यक्रम रहेको छ ।

भोलि भदौ ३ गते विहान ११ः३० बजे इलामको चुलाचुलीमा आयोजना हुने पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले अन्य पार्टी परित्याग गरी ठूलो संख्यामा कार्यकर्ताहरुलाई एमाले प्रवेश गराउने कार्यक्रम छ ।

भोलि नै दिउँसो १ बजे एमाले निकट मजदुरहरुको दमक नगर सम्मेलन उदघाटन तथा भेटघाट कार्यक्रममा उनी सहभागी हुने छन् ।

अपरान्ह ३ः३० बजे गौरादह ५ स्थित स्कुलचौनमा आयोजना हुने पार्टी प्रवेश तथा जनसंगठनहरुको भेटघाटमा अध्यक्ष ओली सहभागी हुने छन् भने साँझ ५ बजे पार्टी निकट नेपाल उद्योग तथा व्यावसाय महासंघले आयोजना गर्ने भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।

यसैगरी भदौ ४ गते विहान ११ बजे प्रोग्रेसिप इन्जिनियर एशोसिएसन नेपालको प्रदेश नं १ स्तरीय सम्मेलन विर्तामोडको सिटी सेन्टरमा उदघाटन गर्ने कार्यक्रम छ भने दिउँसो १ बजे अनेम संघ झापाको जिल्ला अधिवेशन अध्यक्ष ओलीले उदघाटन गर्ने छन् ।

त्यसैदिन दिउँसो २.३० बजे नेपाल उद्योग तथा व्यावसायी महासंघको जिल्ला भेलालाई सम्बोधन गरेर अपरान्ह ३.३० भद्रपुरबाट काठमाडौ फर्कने कार्यक्रम छ ।

यस पटक अध्यक्ष ओलीको कार्यक्रम नेपाल कै होचो भूमी केचनादेखि गौरादह र विर्तामोडदेखि इलामको चुलाचुलीसम्मका कार्यक्रममा सहभागी हुने छन् ।