काठमाडौं – नेपाल राष्ट्र बैंकलेको प्रतिवेदनले मुल्य केही समय अझै बढ्न सक्ने देखाएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७८\७९ (२०२१\२२) को चौथो त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजा सार्वजनिक गरेको छ । उक्त सर्वेक्षण २०७९ असार २० देखि असार २७ (जुलाई ०४ देखि ११ जुलाई, २०२२) सम्म २८ सहरका ३१ बजार क्षेत्रका व्यक्तिहरुसंग अन्तर्वार्ता मार्फत सम्पन्न गरिएको प्रतिवेदन अनुसार मुल्यबृद्धि बढ्ने देखिएको छ ।
प्रस्तुत परिणामहरू एक हजार एक सय ४१ शहरी व्यक्तिहरूको प्रतिक्रियामा आधारित रहेको राष्ट्र बैंकको भनाई छ । अघिल्लो सर्वेक्षणको तुलनामा यो सर्वेक्षणमा दुई सय १० थप व्यक्तिहरू थपिएका राष्ट्र बैंकको भनाई छ । सर्र्वेक्षणको प्रमुख नतिजाहरुमा ९४ दशमलव सात प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गरेका छन् । त्यसैगरी, ९४ दशमलव चार प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरिएको प्रतिवेदनमा उल्लेख छ ।
आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश चैत, २०७८ को तुलनामा केही बढेको छ भने अर्को एक वर्षमा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश थोरै घटेको छ । राष्ट्र बैंकका अनुसार गैर खाद्य र सेवा तथा घरजग्गा (आवास) बाहेकका सम्पूर्ण उपभोग समूहहरूमा आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश चैत्र, २०७८ को तुलनामा बढेको छ । तरकारी र फलफूल तथा माछा, मासु, दूध, घिउ र तेल उपभोग समूह बाहेकका सबै समूहहरूमा एक वर्ष अगाडि मूल्य बढ्ने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश चैत्र, २०७८ को तुलनामा घटेको छ । तीन महिना पछिको मध्य अपेक्षित मुद्रास्फीति प्रक्षेपण २०७८ चैतको तुलनामा बढेको छ ।
सर्वेक्षण अनुसार एक वर्ष पछिको मध्य अपेक्षित मुद्रास्फीति चैत्र, २०७८ को तुलनामा थोरै घटेको छ । तीन महिना र एक वर्ष पछिको मध्य अपेक्षित मुद्रास्फीति क्रमश १४ प्रतिशत र १३ दशमलव पाँच प्रतिशत रहेको छ । उपभोक्ताले, अहिलेको मुद्रास्फीति १४ प्रतिशत रहेको महशुस गरेका छन् । व्यक्तिहरूले निकट अवधिमा मुद्रास्फीति समान रहने तर मध्यम अवधिमा घट्ने अपेक्षा गरिएको प्रतिवेदनमा उल्लेख छ ।