काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसको केन्द्रीय समिति निर्णयबाटआफूहरू झस्किएको बताएका छन् ।
अध्यक्ष नेपालले कांग्रेसले आफूहरूको अपमान गरेको बताउँदै उनले भने ‘उहाँहरूले आफूलाई ६०/७० प्रतिशत सिट चाहिने अनि अरूले एक सिट जित्लान्, ८ सिट जित्लान् भन्ने खालको स्टमेट आइसकेपछि हामीलाई साह्रै नै अवमूल्यन गरियो कि भन्ने लागेको छ।’
इमेज टिभीको हट सिटका लागि पत्रकार जगदीश खरेललाई बिहीबार दिएको अन्तर्वार्तामा अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
नेता नेपालले कांग्रेसले अरू दलको पनि अस्तित्व र आधार स्वीकार गरेर जाला भन्ने आशा राखे पनि केन्द्रीय समितिको निर्णयले त्यस्तो आशा राख्ने ठाउँ नदेखिएको बताए ।
एकीकृत समाजवादीका अध्यक्ष नेपालले तत्कालीन नेकपाका पाँच जना सचिवालय सदस्यबीच छलफल पनि अघि बढेको प्रसंग निकाल्दै चुनावमा मोर्चा बनाएर जान सकिन्छ कि, पार्टीलाई एकीकृत बनाएर लैजान सकिन्छ कि भन्ने विषयमा पनि छलफल हुँदै गरेको बताएका थिए ।
उनले भने, ‘समाजवादी केन्द्र बन्ने कुरा ५ जनाको बैठकले तय गर्न सक्दैन। तर पार्टी निर्माण गर्न सक्छ। नेकपाका पाँच जना सचिवालय सदस्यले अग्रसरता लिने कि, नेकपालाई ब्युँझाउने वा नयाँ शीराबाट कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउने कि भन्ने छलफल भइरहेको छ,’ उनले भने, ‘चुनावमा मोर्चा बनाएर जान सकिन्छ कि, पार्टीलाई एकीकृत बनाएर लैजान सकिन्छ कि, एकताको कुन स्वरूप वा ढाँचा अबलम्बन जाँदा उपयुक्त हुन्छ भन्नेबारे हाम्रोबीचमा छलफल सुरू भएको छ।’
कांग्रेसको गत सोमबार सकिएको केन्द्रीय समिति बैठकले आफ्नै नेतृत्वमा पाँच वर्ष बहुमतको सरकार बनाउने गरी अहिलेको सत्तागठबन्धनसँग चुनावी तालमेल गर्ने निर्णय गरेको थियो।