काठमाडौं । सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोगाम (एसपिपी) अस्वीकार गर्ने निर्णय गरेको एक महिना पुग्नै लाग्दासमेत पत्राचार गरेको छैन ।
प्रधानमन्त्री शेरबहादुर देउवाकै कारण एसपिपी अस्वीकार गरेको पत्र अमेरिकालाई पठाउने निर्णय गरेको सरकारले एक महिनासम्म पनि पत्र नपठाएको स्रोतको दाबी छ । प्रधानमन्त्रीकै अनिच्छाका कारण हालसम्म पत्र नपठाइएको परराष्ट्र स्रोतले बताएको छ । गत असार ६ गते बसेको मन्त्रिपरिषद् बैठकले एसपिपी अस्वीकार गर्ने निर्णय गरेको थियो । एसपिपी अस्वीकार गर्ने पत्र अमेरिकालाई पठाउनेसमेत सरकारको निर्णय थियो ।
त्यसपछि प्रधानमन्त्री देउवाको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधिसभामा अमेरिकालाई पत्र पठाइसकिएको झुटो दाबी गरेका थिए। तर, गृहमन्त्रीको जवाफपछि परराष्ट्र मन्त्रालयले एसपिपीमा सहभागी नहुने विषयमा अमेरिकालाई पत्र पठाउन बाँकी नै रहेको बताएको थियो ।
सरकारले निर्णय गरेको एकमहिना पुग्न लाग्दासम्म पनि अमेरिकालाई पत्र नपठाइएको भन्दै सरकारको चर्को आलोचना भइरहेको छ । प्रमुख प्रतिपक्ष दल एमालेले सरकारले पत्र नपठाउनु एसपिपीमा सरकारले सम्झौता गर्न खोजेको रुपमा लिएको छ । एसपीपीमा सहभागी नहुने निर्णय अनुसार अमेरिकालाई पत्र नपठाएको भन्दै सांसद भीम रावलले बुधबार सरकारलाई रुलिङ गर्न सभामुख अग्निप्रसाद सापकोटासमक्ष आग्रह गरे । सभामुखले उनले मन्त्रीलाई जवाफ दिन लगाउने बताए ।
रावलले भने रुलिङ नभएसम्म रोष्ट्रम नछाड्ने अडान राखेका थिए । रुलिङ नगरेसम्म रोष्ट्रम नछोड्ने रावलको अडान तोड्न सभामुख सापकोटाले पटक–पटक आफ्नो ध्यानाकर्षण भएको बताएका थिए । तर २० मिनेटसम्म रावल रोष्ट्रममा उभिइरहेपछि सभामुखले बैठक नै स्थगित गरेका थिए ।
एसपिपीसँगै प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे पनि चर्चा भएको थियो । एसपिपी अघि नबढाउने निर्णयसँगै प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणसमेत अन्योलमा परेको छ । सत्तारूढ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एक साताअघि एसपिपीमा अघि नबढ्ने निर्णयपछि प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्द भएको खुलासा गरेका थिए । यद्यपि, परराष्ट्र मन्त्रालयले भने प्रधानमन्त्रीको भ्रमण रद्द नभएको जनाएको छ ।
परराष्ट्र मन्त्रालयले अमेरिकासँगको स्टेट पार्टरनसीप प्रोग्राम (एसपिपी) अस्वीकार गर्नेबारे अमेरिकालाई पत्राचार गर्ने अझै अध्ययन भइरहेको जनाएको छ । एसपिपीअन्तर्गत नै कतिपय सहयोग यसअघि नै आइसकेको भन्ने तथ्यहरू देखिएपछि त्यसबारे अध्ययन भइरहेको मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताए । ‘एसपिपीको विषयमा अध्ययन भइरहेको छ । उपयुक्त समयमा चिठ्ठी पठाइन्छ,’ बुधबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लम्सालले भने, ‘विपद् व्यवस्थापनलगायत के-के मा सहयोग लिएको हो त्यो अध्ययन भइरहेको छ ।’ प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे केही सुनिश्चित नभएको उनको भनाइ छ । ‘परराष्ट्रमा एउटा मितिलाई लिएर कुरा भइरहेको थियो । अब दुवै पक्षबाट सहमति भएपछि मिति बाहिर आउँछ,’ उनले भने, ‘दुवै पक्षलाई अनुकूल नभई मिति घोषणा गर्ने कुरा आउँदैन ।’