काठमाडौं । मध्यपश्चिमको तराई जिल्ला बर्दिया विशेषतः बर्दिया राष्ट्रिय निकुञ्जका कारण चर्चित छ । यो जिल्लाको करिब ६९ प्रतिशत भाग समतल छ भने बाँकी चुरे पर्वतमा पर्छ ।
२ हजार २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको बर्दियामा काठमाडौं जस्ता चार पाँच वटा जिल्ला अटाउन सक्छन् । आकारमा मध्यम यो जिल्लाका रैथाने जाति भनेको थारुहरु हुन । प्रचुर सम्भावना, प्राकृतिक स्रोत साधन भएर पनि आर्थिक र सामाजिक विकासमा जिल्ला अझै पछाडि नै परेको छ ।
विशेषत थारुहरुको बाक्लो बस्ती भएको जिल्लाका रुपमा यो जिल्लालाई चिन्ने गरिन्थ्यो । अन्य जिल्लाहरुबाट पनि फरक फरक जाति र संस्कृतिका मानिसहरु बसाई सरेर आएका कारण जिल्ला विविधतायुक्त बनेको छ ।
पश्चिम तराइका बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलाई राणाकालमा नयाँ मुलुक पनि भन्ने गरिन्थ्यो । किनभने भारतमा विक्रम सम्वत १९१४ अर्थात १ सय ५९ वर्ष अघि सिपाही विद्रोह भएको थियो । त्यो विद्रोहमा नेपालका तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले इष्ट इन्डिया कम्पनीलाई सहयोग गरेर सिपाई विद्राह दमन गर्न सघाए । उनले नेपालबाट गोर्खाली सेना पठाएर भारतको सिपाई विद्रोहको अन्त्य गरिदिए । त्यो सहयोग बापत विक्रम सम्वत १७७३ मा भएको सुगौली सन्धिबाट गुमेको नेपालको भाग मध्ये यी चार जिल्ला भारतमा राज गरिरहेका अंग्रेजहरुले फिर्ता दिएका थिए ।
बर्दिया जिल्ला बढैया तालको जिल्ला, गजराज हात्तिको जिल्ला, थारु बहुलको जिल्ला, जङ्गलै जङ्गलको जिल्ला, कृष्णसारको जिल्ला, पन्टुन पुलको जिल्ला तथा एक खम्बे पुलको जिल्लाको आदि नामले पनि परिचित छ ।
बर्दियाको पदनाह गाविसमा रहेको बारवर्दिया गाउँबाट बर्दिया जिल्लाको नामाकरण भएको हो । यो गाउँमा पहिले हरिहर नामका राजाको दरबार पनि थियो । पदनाह गाविसमा वारवर्दिया भन्ने गाँउ छ पहिले यसै ठाउँमा हरिहर राजाको दरबार थियो ।
बढैया ताल, भगै्रया ताल, अनौहवा ताल, लक्ष्मण ताल, तारा ताल, दानुवा ताल, सत्खलुवा ताललगायत ताल भएका कारण पनि यो जिल्लालाई तालहरुको जिल्ला भन्ने गरिन्छ । यो जिल्ला भएर कर्णाली, बबई, भेरी , मानखोला, गेरुवा लगायत नदी तथा खोलाहरु बहन गर्दछन् । यस्ता खोला नदीको पानीबाट सिंचाई, माछापालन आदि गर्न सकिन्छ । जुन जिल्लाको लागि आर्थिक समृद्धिको एक माध्यम बन्न सक्छ ।
यी सबै स्रोत बाहेक पनि बर्दियामा काठमाडौ जिल्ला भन्दा ठूलो क्षेत्रफल ओगटेको बर्दिया राष्ट्रिय निकुञ्ज छ । यो निकुञ्जमा बाघ, गैडा, हात्ती, गोही, बाह्रसिंगा जस्ता जंगली जनावरहरु पाइन्छन् । यस्ता जंगली जनावरहरु हेर्ने व्यवस्था मिलाउन सक्ने हो भने बर्दिया पर्यटन विकासको हब बन्न सक्छ । तर दुर्भाग्य यहि छ कि बर्दियाले पर्यटक आकर्षित गर्न अझै सकेको छैन । बर्दियामा पर्यटकहरु नजानु पर्ने कारण छैन । तर पर्याप्त प्रचार हुन सकेको छैन । चितवन राष्ट्रिय निकुञ्जसँग तुलना गर्ने हो भने बर्दियाका लागि गर्न धेरै बाँकी छ ।
बाघ, गैडा, हात्ती, बाह्र सिंगा लगायत लोपोन्मुख जनावरका लागि बर्दिया राष्ट्रिय निकुञ्ज विश्वासीलो घरका रुपमा परिचित छ । बर्दिया राष्ट्रिय निकुञ्जमा ८५ वटा बेंगल टाइगर, एसियन हात्ती १०० वटा, गैडा ३४ वटा छन् । ५६ प्रजातिका स्तनधारी जन्तु, ४७३ प्रजातिका चराचुरुंगी पाइने निकुञ्ज जैविक विविधताको दृष्टिले समृद्ध छ ।
तर यो निकुञ्जले जनशक्ति अभाव झेलिरहेको छ । निकुञ्जका वार्डेन रमेशकुमार थापाका अनुशार एक हात्ती स्याहार्न ३ जना माउते चाहिन्छ । तर अहिले निुकञ्जसँग माउते र कर्मचारीको अभाव छ । निकुञ्जको आफ्नै हात्तीसार छ । हात्तीसारकै हात्तीलाई जंगल सफारीमा प्रयोग गरिन्छ ।
हात्तीमा जंगल सफारीका लागि प्रबद्र्धनात्मक कार्यक्रमहरुको खाँचो देखिन्छ । एकातिर प्रवद्र्धन गर्ने अर्कोतिर भौतिक पूर्वाधारमा ध्यान दिन नसक्ने हो भने आकर्षित भएका पर्यटक विकर्षीत हुन सक्छन् । पर्यटकहरुका लागि सुविधा सम्पन्न होटल, ग्रामिण क्षेत्रमा सुविधाजनक होमस्टे आदिको प्रबन्ध गर्न आवश्यक हुन्छ ।
राष्ट्रिय निकुञ्जभित्र प्रवेशका लागि सडक छ । तर ती सडकहरु अहिले सुविधाजनक छैनन् । निकुञ्जभित्रको सडक पक्की वा कालोपत्रे बनाइँदैन । तर सुविधाजनक ग्राभेल सडक बनाउन नसकिने कारण छैन । निकुञ्जका जंगली जनावरहरुलाई कम भन्दा कम वाधा पारेर पर्यटकहरुलाई जंगल विचरण गर्ने प्रबन्ध हुनु पर्छ । सडकमा खाल्डा खुल्डी धेरै भए भने गाडीको आवाजले जनावरहरु भयभित हुने गर्छन ।
सरकारी तह, स्थानीय निकाय, निकुञ्ज प्रशासनको सहकार्यमा बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटक आकर्षित गर्ने एकीकृत कार्यक्रम आवश्यक हुन्छ । जुन बर्दियाका स्थानीय र व्यवसायीको पहिलेदेखिकै सपना पनि हो ।
बर्दिया प्राकृतिक हिसाबले मात्रै होइन, सांस्कृतिक दृष्टिले पनि विविधतायुक्त छ । बर्दिया थारुहरुको घना बस्ती भएको जिल्ला पनि हो । यहाँ थारु जातिको पहिचान पर्यटकहरुका लागि विशेष लाग्न सक्छ । प्रकृति र संस्कृतिको अनुपम संयोजन रहेको बर्दियामा थारु युवाहरु आफ्नो संस्कृति जोगाउन लागि परेका छन् । विश्वव्यापी सांस्कृतिक हस्तक्षेपका वावजुद थारु जातिले आफनो पहिचान जोगाएर बसेको छ । उनीहरुको माग छ– हाम्रो समस्यामा राज्यले हेरिदिनु पर्यो । सामान्यतः विदेशी पर्यटकहरुले बर्दिया पुग्न काठमाडौबाट नेपालगञ्ज उत्रनु पर्छ । यो रुटको भाडा महंगो छ । त्यसमाथि विदेशीले त अझै बढी खर्च गर्नुपर्छ । नेपालगञ्जबाट पनि मोटर चढेर मात्रै बर्दिया पुग्न सकिन्छ । बर्दियामा एटिएम मेसिनको सुविधा नभएको,सुरक्षामा मानिसहरुले शंका गर्ने, काठमाडौबाट मोटरबाटो धेरै लामो भएका कारण बर्दिया धेरैको पहुँचमा पर्न सकेको छैन । यस्ता विषय सरकारले हल गर्न सक्छ । पर्यटक आकर्षित गर्न विज्ञहरुको सुझाव अनुशार काम गर्न सक्छ । भेट्न सकिन्छ । बर्दियाका थारुहरुको संस्कृति देखेर पूर्वी तराईका थारुहरु नै पनि आश्चर्यमा पर्न सक्छन् । किनभने पूर्वका थारु र पश्चिमका थारुहरुको भाषा, संस्कृति, परम्परा आदि एक आपसमा मेल खाँदैन । स्वभावमा सोझा र सरल मानिने थारुहरुको आफ्नै कला, संस्कृति र सभ्यता छ ।
निकुञ्जको मध्यवर्ती गाविस सूर्यकटुवाको डल्ला गाउँमा होम स्टे पनि सञ्चालनमा छ । यो होम स्टेमा एक जना पर्यटकले एक दिन खाने बस्ने सुविधाका लागि ३ हजारु रुपैयाँ तिर्नु पर्छ । खानामा स्थानीय थारुहरुको आफ्नै मौलिक खाना खुवाउने गर्दछन् । लोकल कुखुराको मासु, माछा, ढिकीरी, लोकल रक्सी आदि अतिथिका लागि दिने गरिन्छ ।
धेरै जसो पर्यटकहरुले सुुविधाजनक शौचालय, सरसफाइमा थप ध्यान दिन सुझाव दिएको उनीहरुले बताए ।
पर्यटकहरुलाई मनोरञ्जन दिन थारु होमस्टेमा थारु नाचको प्रबन्ध पनि गरिएको छ । लाठी नाच, झुम्रा, छोक्रा नाच आदि प्रस्तुत गर्छन् । यस्तो नाच –प्रशान्त शर्मा