काठमाडौँ – नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि अष्ट्रेलिया समक्ष आग्रह गरेको छ। नेपालका लागि अस्ट्रेलिया राजदूत फेलीसिटी वोल्कसंग काठमाडौंको जमलस्थित चेम्बर भवनमा आज भएको भेटवार्तामा चेम्बरका पदाधिकारीले जलविद्युत, बन, पर्यटन, कृषि एवं साना उद्योगमा लगानीका लागि आग्रह गरेका हुन्। नेपाल र अष्ट्रेलियाबीच ६० बर्ष भन्दा पुरानो कुटनीतिक सम्वन्धलाई थप बलियो बनाउन सरकारी र नीजि क्षेत्रबाट उच्चस्तरीय आर्थिक साझेदारीको आवश्यक्ता रहेको अध्यक्ष मल्लले बताए ।
अस्ट्रेलियाले नेपालको बन क्षेत्रको संरक्षण तथा सम्वद्र्धन गर्न लामो समय देखि आर्थिक एवं प्राविधिक सहयोग गरेको भन्दै अध्यक्ष मल्ले यसको निरन्तरतामा जोड दिए । उनले जडिवुटी एवं खानी जन्य तथा धातुहरुको प्रशोधन गर्ने उद्योगमा लगानी गरि अन्तराष्ट्रिय बजार प्रर्वद्धन गर्न समेत राजदूत वोल्क समक्ष आग्रह गरे। अध्यक्ष मल्लले भने, ‘समृद्ध मुलुक अस्ट्रेलियाले थुप्रै देशमा लगानी गरिरहेको छ। तर नेपालमा लगानी निकै नगन्य मात्रामा छ । भारत तथा बंगलादेशको विद्युत बजारलाई मध्यनजर गर्दै अपार सम्भावना भएको नेपालको जलविद्युतमा लगानी गर्नका लागि म महामहिम राजदूत वोल्कलाई आग्रह गर्दछु ।’ अस्ट्रेलियाका ठूला लगानीकर्तालाई नेपालको जलविद्युतमा लगानीका लागि अध्यक्ष मल्लले आग्रह समेत गरे ।
वैदेशिक लगानीका लागि नेपालले नीतिगत क्षेत्रमा थुप्रै सुधार गरिसकेकाले ढुक्क भएर लगानी गर्न अध्यक्ष मल्लले राजदूत वल्क समक्ष आग्रह गरे। अध्यक्ष मल्लले भने, अस्ट्रेलियाको लगानी सुनिश्चित गर्न नीजि क्षेत्रको तर्फबाट नेपाल चेम्बर अफ कमर्सले पहल गर्नेर्छ ।’
नेपालका विद्यार्थीहरु अस्ट्रेलियामा अध्ययनका लागि गईरहेको सन्र्दभमा अध्यक्ष मल्लले त्यहाँका बिख्यात शैक्षिक संस्थाहरुबाट नेपाली शैक्षिक संस्थाहरुलाई सम्वन्धन दिई शिक्षाको गुणस्तर सुधारमा सहयोग गर्न समेत राजदूत वल्कसमक्ष आग्रह गरे । अध्यक्ष मल्लले नेपाल र अस्ट्रेलियाबीच सीधा हवाई सेवा बिस्तार गरेर दुवै देशले फाईदा लिन सक्नेमा जोड दिए । यसले नेपालको पर्यटन प्रर्वद्धनमा समेत महत्वपुर्ण भूमिका खेल्नेमा अध्यक्ष मल्लले विश्वास व्यक्त गरे । सूचना प्रविधीको क्षेत्रमा लगानीका लागि अस्ट्रेलियाको निजी क्षेत्रमा पहल गरिदिन समेत राजदूत वल्कलाई अध्यक्ष मल्लले प्रस्ताव गरे ।
जवाफमा राजदूत वल्कले नेपाल अस्ट्रेलियाको कुटनीतिक सम्वन्ध ६० बर्ष भन्दा पुरानो र ऐतिहासिक भएको बताए । नेपालसंगको ऐतिहासिक सम्वन्धलाई अष्ट्रेलियाले संधै गर्व गर्ने उनको भनाई छ । नेपालबाट बार्षिक ५० हजार विद्यार्थीहरु अध्ययनका लागि अस्ट्रेलिया जाने गरेको भन्दै वल्कले उनीहरुको शैक्षिक सुधार तथा भविश्यका लागि आफ्नो सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।
वल्कले भने, ‘नेपालबाट बार्षिक ५० हजार विद्याथीलाई अस्ट्रेलियाले अध्ययन भिषा उपलव्ध गराउंदै आएको छ । अस्ट्रेलिया अध्ययन गर्न आउने नेपाली विद्यार्थीको संख्या विश्वमा चीन, भारत पछि नेपाल तेस्रो स्थानमा छ । हामी अझै यसको सुधारको पक्षमा छौं ।’ नेपालमा लगानीका लागि नीतिगत समस्या हुँदा पनि अस्ट्रेलियाबाट अपेक्षित लगानी आउन नसकेको राजदूत वल्कको भनाई छ ।