काठमाडौं । प्रतिनिधिसभाको बैठकमा एमालेका सांसदहरूको आपत्ति जनाएका छन् ।
बिहीबार बसेको बैठकमा एमाले अध्यक्ष केपी ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको जेरीजस्तो भनेर दिएको अभिव्यक्तिलाई शुक्रबारको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले भ्रष्टाचारको चास्नीमा डुबेकाले अरुलाई पनि सोही देखेको बताएपछि एमालेका सांसदले सो अभिव्यक्ति रेकर्डबाट हटाउन माग राखेर विरोध जनाएका हुन् ।
मुल्यवृद्धिबारे भ्रामक प्रचारको जवाफ दिन्छु भन्दै उभिएका बडूले प्रमुख प्रतिपक्ष दलका नेताले गरेका टिप्पणीप्रति सरकारको र मन्त्रालयको गम्भीर ध्यानकर्षण भएको बताए । उनले ओलीको अभिव्यक्तिलाई अराजनीतिक, भ्रामक र खेदजनक टिप्पणी भनेपछि एमालेका सांसदहरू नियमापत्ति गर्दै उठेको थिए ।
एमालेका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाइरहेका छन् ।
एमालेका सांसदहरूले उठेर नियमापत्ति जनाउँदै कानूनमन्त्रीले माफी माग्नुपर्ने माग गर्दै अवरोध सिर्जना गरेपछि प्रतिनिधिसभाका बैठक १५ मिनेटलाई स्थगित भएको छ ।